उच्च अदालत दिपायलद्वारा भर्चुअल विधिबाट मुद्दाको सुनुवाइ सुरु

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार
उच्च अदालत दिपायलद्वारा भर्चुअल विधिबाट मुद्दाको सुनुवाइ सुरु

काठमाडौं ।

उच्च अदालत दिपायलले मंगलबारदेखि मुद्दाको भर्चुअल सुनुवाइ शुरू गरेको छ। तत्कालका लागि कैलाली जिल्लास्थित बार एसोसिएसनको कार्यालयमा उपस्थित भई पक्ष, विपक्ष र कानून व्यवसायी भर्चुअल रूपमा (अनलाइनमार्फत) इजलासमा सहभागी हुन पाउने भएका हुन् ।

अदालतले नेपालमै पहिलो पटक उच्च प्रविधियुक्त क्यामरासहित डिस्प्ले जडान गरेर सुनुवाई शुरु गरेको हो।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानूनी सहायता परियोजना अन्तरगत उच्च अदालतले उक्त प्रविधिको स्थापना गरेको हो।

उच्च अदालत दिपायलका प्रवक्ता नरबहादुर नेगीकाअनुसार यससँगै अब प्रदेश राजधानी धनगढीबाट झण्डै २ सय किलोमिटरको दूरी र ७ घण्टाको यात्रा पार गरी दिपायल पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ।

कैलाली जिल्लाका लागि मात्र भर्चुअल सुनुवाइ शुरू गरिएको छ । विस्तारै उच्च अदालत दिपायलअन्तर्गतका अन्य जिल्लाहरू बझाङ, बाजुरा, डोटी, अछाम समेतका सेवाग्राहीका लागि भर्चुअल सुनुवाइ विस्तार गरिने छ। प्रदेश राजधानीबाट मुद्दा लिएर दिपायल पुग्नुपर्दा मुद्दाका पक्षलाई दोहोरो आर्थिक भार परिरहेको थियो ।

हाल उच्च अदालत दिपायलमा दर्ता भएका १ हजार ५२ मुद्दामध्ये ९० प्रतिशत मुद्दा कैलाली जिल्ला अदालतबाट भएका फैसलाउपरका छन् ।

धनगढीबाटै भर्चुअलरूपमा इजलासमा सहभागी हुन पाउने भएपछि सेवाग्राहीलाई निकै राहत महशुस हुने विश्वास गरिएको छ।

यस प्रणालीको प्रयोगबाट कारागारमा रहेका थुनुवाहरुले आफ्नो कानुन व्यवसायीले गरेको बहस प्रत्यक्ष सुन्न पाउने र इजलाससँग छलफलमा सहभागी हुन पाउने बताईएको छ।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...