Technology Khabar ७ चैत्र २०७८, सोमबार
काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडले आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ। सहज एवं सबल बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको हो।
बैंकले चैत १ गतेदेखि आगामी वर्षको वैशाख ३१ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्।
बैंककाअनुसार आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनआईसी एसिया मोबाइल बैंकिङ भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।
यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ।
साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एनआईसी एसिया बैंकबाट सहजै बुझ्न सकिने नवीन सुविधासमेत यस एपमा रहेको छ।
यसका लागि ग्राहकले एनआईसी एशिया बैंक भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफुलाई प्राप्त रकम र विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्नेछन्।
दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत भई डिजिटल रेमिट्यान्स कारोबारको प्रबर्द्धनमा सहयोग मिल्ने बैंकले जनाएको छ।
प्रकाशित: ७ चैत्र २०७८, सोमबार