
काठमाडौं ।
यूक्रेन युद्धका कारण कम्प्युटर, इलेक्ट्रोनिक तथा अप्टिकल उत्पादनहरुको मूल्य बढ्ने देखिएको छ।
हालै यूएन काउन्सिल फर ट्रेड एन्ड डेभलपमेन्ट यूएनसीटीएडीले युद्धका कारण यस्ता सामग्रीको मूल्य ११.४ प्रतिशतसम्म बढ्न सक्ने आकलन गरेको हो।
उक्त संस्थाले रुस-यूक्रेन युद्धका कारण विभिन्न पार्टपुर्जाहरु आयात महंगो पर्न जाने र यसपछि ती उपकरणहरु शिपमेन्टको शुल्क पनि बढ्न सक्ने भएकाले उक्त परिमाणमा मूल्य वृद्धि हुन सक्ने औंल्याएको हो।
झण्डै ३ हप्ताभन्दा बढी समय लम्बिएको यूक्रेन युद्धले आपूर्ति श्रृङ्खलालाई कसरी असर पार्छ भन्ने पक्का नभए पनि ‘द इम्प्याक्ट अन ट्रेड एन्ड डेभलपमेन्ट अफ द वार इन यूक्रेन’ शीर्षकको उक्त संस्थाको रिपोर्टमा केही सम्भाव्य असर पर्न सक्ने र ११ प्रतिशतको हाराहारीमा मूल्य बढ्न सक्ने उल्लेख गरिएको छ।
उक्त रिपोर्टमा युद्धले विश्वको हवाई ओसारपसारमा नकारात्मक असर पर्ने गरी सामान ओसारपसारको मार्गको अनिश्चितता सिर्जना गरेको उल्लेख छ।
डिजिटाइम्सका अनुसार विमान कम्पनीहरुले लामो रुट प्रयोग गर्नुपरेकाले हवाई कार्गो शुल्क पनि बढ्न जाने बताइएको छ।
यसैबिच रुसी हवाईमार्ग ३६ ओटा देशका लागि बन्द गरिएकाले केही सामान ढुवानीकर्ताहरुले एसिया र यूरोपबिचका देशमा सामान ओसारपसारको अर्डर बूक गर्न नमानेका डिजिटाइम्सले जनाएको छ।
प्रकाशित: ६ चैत्र २०७८, आईतवार