
काठमाडौं ।
रुस-युक्रेन युद्धको क्रममा हामीले अहिलेसम्म धेरै ह्याकिङका रिपोर्टहरू आईरहेका छन्, जहाँ ह्याकरहरूले जानकारी निकाल्न सरकारी मेसिनरीमा आक्रमण गरिरहेका छन्। अब एक नयाँ रिपोर्टले बताएअनुसार चिनियाँ ह्याकरहरूले पनि युक्रेनी सरकारलाई निशाना बनाएका छन्।
ब्लीपिङ कम्प्युटरको समाचार अनुसार यी ह्याकरहरूले चिनियाँ सरकारको निर्देशनमा काम गरिरहेका छन्। चिनियाँ जनमुक्ति सेना (पीएलए) र अन्य चिनियाँ गुप्तचर एजेन्सीहरूले युक्रेनमा जारी रुसी युद्धको बारेमा थप जान्न खोजिरहेको गुगलको थ्रेट एनालिसिस ग्रुप (टीएजी) ले रिपोर्ट गरेको छ।
गुगल टीएजी सेक्युरिटीका इन्जिनियर बिली लियोनार्डले गुगलले युक्रेनी सरकारी संस्थाहरूलाई चिनियाँ सरकार प्रायोजित ह्याकिङ समूहद्वारा लक्षित ह्याकिङ प्रयासहरूबारे जानकारी गराएको बताए।
“विगत केही हप्ताहरूमा, गुगल टीएजीले युक्रेनी सरकारी संस्थाहरूलाई लक्षित गर्ने चीनबाट सरकार समर्थित लिडर पहिचान गरेको छ, र हामीले प्रभावित पक्षहरूलाई जानकारी प्रदान गरेका छौं,” लियोनार्डले भने।
यसअघि इन्ट्रुजन ट्रूथ नामक ट्विटर एकाउन्टबाट पनि केहि समय पहिले यस्तै दाबी गरिएको थियो, जुन अहिले भर्खरको रिपोर्टमार्फत पुष्टि भएको छ। उनीहरुले चिनियाँ ह्याकरहरुले चिनियाँ सरकारको निर्देशनमा युक्रेनलाई निशाना बनाएको बारेमा थाहा भएको बताएका थिए ।
प्रकाशित: ६ चैत्र २०७८, आईतवार