
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले गत सोमबार ब्रोकर डाटा सेन्टरमा समस्या भएर सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिएका छन्।
अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा शुक्रबार अर्थमन्त्री शर्माले उक्त समस्याको तत्काल छानबिन गर्न र यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अधिकारीलाई निर्देशन दिएका हुन्।
“केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो। यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्। यो प्राविधिक विषय मात्र होइनजस्तो लाग्छ। यो समग्र पुँजी बजारलाई नै असर गरेको छ,” उनले भने।
नेप्सेको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि सोमबारको सेयर कारोबार स्थगित भएको थियो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारको सेयर कारोबार बन्द भएको जनाएको थियो । करिब दुई घण्टा मात्रै खुलेपछि रोकिएको बजार सोमबारका लागि बन्द भएको थियो। गोरखापत्रबाट
प्रकाशित: ६ चैत्र २०७८, आईतवार