
काठमाडौं ।
लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी पोर्श एजीले विद्युतीय सवारी उत्पादनको महत्वाकांक्षी योजना बनाएको छ।
कम्पनीले शुक्रबार आफ्नो विद्युतीय सवारी बिक्रीको महत्वाकांक्षी योजना अघि सारेपछि यसको मूल कम्पनी फक्सवागनको शेयर मूल्य यो वर्ष आकाशिने आकलन गरिएको रोयटर्सले जनाएको छ।
नयाँ बिक्री भएका ८० प्रतिशत पोर्श गाडीहरु २०३० मा पूर्णरुपमा विद्युतीय हुने पोर्श एजीका सीईओ ओलिभर ब्लूमले समूहको वार्षिक पत्रकार सम्मेलनमा बताए।
यो लक्ष्य गत वर्ष पोर्शको इलेक्ट्रिफाइड मोडल तथा प्लग-इन हाइब्रिड गाडीहरुका लागि लिइएको थियो।
पोर्श एजीले आफ्नो सञ्चालन मुनाफा कम्तीमा १५ प्रतिशत पुर्याउने लक्ष्यका लागि निकै लामो समयदेखिको लक्ष्यमा लागिपरेको कम्पनीका वित्त प्रमुख लुज मेश्कलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
फक्सवागन तथा यसका शेयरहोल्डर पोर्श एसईले पोर्स एजीको सम्भाव्य आंशिक स्टक मार्केट सूचीकरणका लागि प्रारुप सम्झौता गरेका छन्। यसको मूल्यांकन ९० अर्ब यूरोसम्म हुनसक्ने बताइएको छ।
प्रकाशित: ५ चैत्र २०७८, शनिबार