भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
भर्चुअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास

काठमाडौं ।

आसन्न २०७९ साल वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले मतदान केन्द्रको ‘भौगोलिक र संवेदनशील’ स्थलका आधारमा निर्वाचन सुरक्षा रणनीति अभ्यास सुरु गरेको छ।

निर्वाचनमा आइपर्ने सम्भावित चुनौती, बाधा व्यवधान र अप्ठ्यारो अवस्थाको व्यवस्थापनका लागि प्रदेश र सङ्घमा गरी सातवटा बाहिनीस्तरमा भुर्चअल विधिबाट निर्वाचन पूर्वसुरक्षा अभ्यास गरिएको सशस्त्र प्रहरी प्रवक्ता कोमलप्रसाद तिउसिनाले बताए।

स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी नायब महानिरीक्षकको कमान्डमा केन्द्रीयस्तरीय, बाहिनीहरूमा प्रदेशस्तरीय र जिल्लास्थित गण तथा गुल्ममा जिल्लास्तरीय निर्वाचन सेल गठन गरिसकेको छ।

त्यसका लागि स्थानीय तह निर्वाचन सुरक्षा अनुशिक्षण तालिम पाठ्यक्रम–२०७८ तयार पारी आवश्यक प्रशिक्षण दिने कार्य जारी छ। निर्वाचन सुरक्षामा करिब ३४ हजार सशस्त्र प्रहरी जनशक्ति परिचालन हुने जनाइएको छ।

सशस्त्र प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक तिउसिनाले निर्वाचन सुरक्षाका लागि जनशक्ति र स्रोतसाधन व्यवस्थापन योजना बनाउने कार्य अन्तिम चरणमा रहेको बताए ।

बाहिनी मुख्यालयलाई प्रदेशगत र गण–गुल्मलाई जिल्लागत निर्वाचन सुरक्षा योजना बनाउन निर्देशन भइसकेको छ । यस पटक उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्ने योजना सशस्त्र प्रहरी बलको छ। सूचनाको निरन्तर विश्लेषणसँगै संवेदनशील र अति संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी अहिलेबाट नै सुरु गरिएको उनले बताए। गोरखापत्रबाट

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...