
काठमाडौं ।
युक्रेनले क्रिप्टोकरेन्सीलाई बैधानिकता दिने र नियमन गर्ने भएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको क्रिप्टोकरेन्सी क्षेत्रलाई प्रभावकारी रूपमा वैध बनाउने विधेयकमा हस्ताक्षर गरेका छन्।
युक्रेनले रुस विरुद्धको युद्धको प्रयासमा सहयोग गर्न चाहने व्यक्ति र समूहहरूबाट करोडौं डलर बराबरको क्रिप्टोकरेन्सी चन्दा प्राप्त गरेको बेला यो निर्णय आएको हो।
क्वाइनग्राफद्वारा रिपोर्ट गरेअनुसार जेलेन्स्कीद्वारा हस्ताक्षरित विद्येयक गत महिना युक्रेनको संसदले अनुमोदन गरेको थियो र यसले युक्रेनमा भर्चुअल सम्पत्तिहरूको लागि कानूनी बजारको सुरुवातको लागि सर्तहरू सिर्जना गर्दछ। यसले युक्रेनी बैंकहरूलाई क्रिप्टो फर्महरूको लागि खाता खोल्न अनुमति दिन्छ।
त्यसैगरि युक्रेनको राष्ट्रिय बैंक र सेक्युरिटीज तथा स्टक मार्केटको राष्ट्रिय आयोगलाई यस क्षेत्रको लागि वित्तीय निगरानीकर्ताको रूपमा नियुक्त गर्ने रिपोर्टमा उल्लेख छ।
क्रिप्टो एक्सचेन्जहरू र अन्य भर्चुअल सम्पत्तिहरू ह्यान्डल गर्ने कम्पनीहरूले सरकारमा दर्ता गर्नुपर्नेछ। यसले नागरिकहरूको क्रिप्टोकरेन्सी होल्डिङहरूलाई आफ्नो फिएट मुद्रा, रिभनिया जस्तै कानुनी बलको साथ सुरक्षित गर्ने बताईएको छ।
टेलिग्राममा साझा गरिएको पोस्टमा, युक्रेनका उपप्रधानमन्त्री र डिजिटल रूपान्तरण मन्त्री, मिखाइलो फेडोरोभले कानूनले क्रिप्टोसेक्टरलाई छायाबाट बाहिर ल्याउने बताएका छन्।
रुसले युक्रेनमा आक्रमण गरेसँगै विश्वभरबाट रुसी आक्रमण विरुद्ध सहयोग गर्न क्रिप्टोकरेन्सी दान गरिएको छ र यसबाट युक्रेनले करोडौं डलर प्राप्त गरेको छ।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार