होलीमा कसरी जोगाउने आफ्नो फोनलाई पानी र रंगहरुबाट ? भिजिहालेमा के गर्ने?

  • Technology Khabar | ३ चैत्र २०७८, बिहीबार
होलीमा कसरी जोगाउने आफ्नो फोनलाई पानी र रंगहरुबाट ? भिजिहालेमा के गर्ने?

काठमाडौं ।

सामान्यतया: फोनमा पानी पस्नु भनेको फोनका भित्री पार्टपुर्जा खराब हुनु हो।

सबै फोनहरुमा वाटर रेजिस्टेन्स फिचर नहुने र यो फिचर भएका डिभाइसहरु महंगो पर्ने हुनाले सबैसँग यस्तै फोन किन्न सक्ने क्षमता हुँदैन।

सामान्यतया तपाईँ हामी अधिकांशले बोक्ने फोनलाई धेरै समय टिकाउनका लागि पानीबाट जोगाउनु अति आवश्यक हुन्छ।

फागु अर्थात् होली पर्व रंगहरुसँग सम्बन्धित भए पनि होलीमा पानीको प्रयोग निकै हुने गर्दछ। होलीमा रमाइलो गर्दै गर्दा तपाईँ हामीले आफ्ना फोनलाई पानीबाट जोगाउनुपर्छ भन्ने कुरामा पनि निकै सजग हुनुपर्दछ।

होली खेल्दै गर्दा वा अन्य समयमा फोनलाई पानीआाट जोगाउन के गर्ने त? पालना गर्नुहोस् तलका केही सुझावहरु:

१. फोन अफ गर्नुहोस्

यदि तपाईँको फोन पानीमा भिजिहालेको खण्डमा सबैभन्दा पहिले अफ गरिदिनुहोस्। फोन अन भएकै बेला पानी मोबाइलको कुनै भित्री भागमा पुगेको खण्डमा शर्ट सर्किट पनि हुन सक्छ।

पानीमा खसेको वा भिजेको फोन चलाउने कोशिस गर्नुहुँदैन बरु त्यसलाई चुपचाप अफ गरिदिनु नै बुद्धिमानी हुन्छ।

२. एसेसरिजलाई फोनबाट छुटाउनुहोस्

फोन अफ गरेपछि सबै एक्सेसरिजलाई फोनबाट छुटाउनुपर्छ। ब्याट्री, सिम कार्ड, मेमोरी कार्डका साथै फोनसँग जोडिएका सबै तारलाई पनि अलग छुटाएर सुक्खा कपडामा राख्नुहोस्। यी सबै एक्सेसरिजलाई अलग गरेपछि शर्ट सर्किटको खतरा कम हुन्छ।

३. नन रिमुभेबल ब्याट्री भएको फोन भए अफ नै राख्नुहोस्

यदि फोनमा नन-रिमूभेबल ब्याट्री छ भने फोन बन्द नहुन्जेल पावर बटन थिचिरहनुहोस्। नन रिमूभेबल ब्याट्रीका कारण फोनमा शर्ट सर्किट हुन सक्छ।

४. टिस्यू पेपर न्याप्किनले पुछ्नुहोस्

फोनको एक्सेसरिज अलग गरेपछि सबै पार्टपुर्जा सुकाउनु आवश्यक हुन्छ। यसका लागि पेपर न्याप्किनको प्रयोग सबैभन्दा उत्तम मानिन्छ।यसबाहेक नरम तौलियाको प्रयोग पनि गर्न सकिन्छ।

५. फोनलाई चामलभित्र राख्नुहोस्

तौलिया वा न्याप्किनले पुछिसकेपछि फोनभित्रका पार्टपुर्जा सुकाउनु अति आवश्यक हुन्छ। यसका लागि फोनलाई चामलभित्र राखिदिनुपर्छ।

चामलमा तीव्रगतिमा चिसोपना सोस्ने शक्ति नीहित हुन्छ र यसबाट फोनका भित्री पार्टपुर्जा सुक्छन्।

६. सिलिका जेल प्याकको प्रयोग गर्नुहोस्

फोनलाई चामलमा राख्न मन नलागे यसको विकल्पमा सिलिका जेल प्याकको पनि प्रयोग गर्न सकिन्छ।

यस्ता जेल प्याकहरु जूत्ता, ग्याजेट आदिको बक्समा राखिएको हुन्छ। यिनीहरुले चामलभन्दा अझ छिटो चिसोपना सोस्न सक्छन्।

७. २४ घण्टासम्म फोनलाई अन नगर्नुहोस्

फोनलाई २४ घण्टासम्म सिलिका प्याक वा चामलमा रहन दिनुहोस्। फोन पूर्ण रुपमा नसुकुन्जेल यसलाई अन गर्नुहुँदैन। फोनका साथै ब्याट्री तथा अन्य एक्सेसरिजलाई पनि चामलमा राखेर सुकाउन सकिन्छ।

८. फोनलाई सर्भिस सेन्टरमा लैजानुहोस्

२४ घण्टापछि फोन र बाँकी पार्टपुर्जा सुकेर ओसिलोपना हराइसकेपछि फोन अन गर्न सकिन्छ। यसो गर्दा ‍पनि फोन अन नभएको खण्डमा तुरुन्तै सर्भिस सेन्टरमा देखाउनु पर्छ।

प्रकाशित: ३ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...