होलीका अवसरमा एनसेलले ल्यायो नयाँ डाटा प्याक

  • Technology Khabar | २ चैत्र २०७८, बुधबार

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डाटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डाटा प्याकहरु ल्याएको छ।

यसका साथै कम्पनीले दैनिक जीबी डाटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ।

कम्पनीका अनुसार एनसेल प्रयोगकर्ताले अब करसहित मात्र रु. १२९ मा ७ दिन भ्यालिडिटी भएको ७ जीबी अल टाइम डाटा प्याकको फाइदा लिन सक्नेछन्।

त्यसैगरी ७ दिन भ्यालिडिटी भएको १४ जीबी अल टाइम डाटा प्याकको  रु १९९ मा लिएर दैनिक २ जीबी डाटा प्रयोग गर्न सक्ने पनि बताइएको छ।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डाटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको बताएको छ।

यस अन्तर्गत ग्राहकहरुले पहिलेकै मूल्यमा थप भोल्युम सहितको डाटा प्याकबाट फाइदा लिन सक्छन्। भोल्युम बढाइएको डाटा प्याक अन्तर्गत ग्राहकले मात्र रु. १६९ मा १०.५ जीबी डाटा खरिद गरी दैनिक १.५ जीबी डाटा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन्।

कम्पनीका अनुसार पहिले यही शुल्कमा दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी डाटा उपलब्ध थियो।

अलि धेरै डाटा भोल्युम चाहिने ग्राहकले रु. २६९ मा २१ जीबी डाटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन्। यसअघि  सोही मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिनसम्म मात्र उपलब्ध थियो।

त्यसैगरी ५९९ रुपैयाँमा ४२ जीबी डाटा पाइने र यस अन्तर्गत हरेक दिन २८ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न सकिनेछ।

यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबारबाट सञ्चालनमा ल्याइएका कम्पनीको भनाई छ।

यसका लागि प्रिपेड प्रयोगकर्ताले *१७१२३*१# डायल गरी प्राप्त निर्देशन पालना गर्नुपर्ने बताइएको छ। यी सुविधा एनसेलको एप तथा वेबसाइट मार्फत पनि खरिद गर्न सकिनेछ।

प्रकाशित: २ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया