काठमाडौं ।
लक्जरी कार निर्माता बेन्टलेले २०२५ देखि ५ वर्षसम्म बर्सेनि एउटा विद्युतीय कार सार्वजनिक गर्ने योजना बनाएको छ।
कम्पनीले वार्षिक नाफा आकाशिएपछि मूल कम्पनी फक्सवागनमार्फत् आफ्नो पञ्चवर्षीय योजना मंगलबार सार्वजनिक गरेको रोयटर्सले जनाएको छ।
बेलायतमा रहेको बेन्ट्लेले २०२१ मा ३८ करोड ९० लाख यूरो नाफा गरेको र यो आँकडा २०२० को तुलनामा २ करोड यूरोले बढी भएको बताइएको छ। यसो हुनुमा नयाँ हाइब्रिड मोडलका कारहरुको माग ३१ प्रतिशतले बढेर १४ हजार ६५९ पुगेको समाचारमा उल्लेख छ।
विश्वभरका कार निर्माताहरुले केही समययता वातावरणमैत्री विद्युतीय कारतर्फ चासो दिइरहेका छन्। यूरोपको सबैभन्दा ठूलो कार निर्माता बेन्टलेको मूल कम्पनी फक्सवागनले पनि टेस्लासँग प्रतिस्पर्धाका लागि उर्जा पूर्वाधारमा लगानी बढाउन लागेको हो।
बेन्टले आफैंले सन् २०३० भित्र कार्बन-शून्य गाडीहरु मात्र बनाउने उद्देश्यले आफ्नो क्र्यूमा रहेको फ्याक्ट्रीमा १० वर्षको अवधिमा ३ अर्ब यूरो लगानी गरिसकेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: २ चैत्र २०७८, बुधबार