नेपाल टेलिकमको बोनस शेयर दिने विवादित प्रस्तावलाई शेयर बजारको ‘रेड सिग्नल’

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
नेपाल टेलिकमको बोनस शेयर दिने विवादित प्रस्तावलाई शेयर बजारको ‘रेड सिग्नल’

काठमाडौं ।

नेपाल टेलिकमले बोनस र नगद लाभांश घोषणा गरेकै दिन शेयर मूल्य उच्च रुपमा घटेको छ। कम्पनीले पहिलो पटक बोनस शेयर लाभांश प्रस्ताव गरेकै दिन बजारमा शेयर मूल्यमा उच्च गिरावट आएको हो।

सरकारीटेलिकम नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले इतिहासमै पहिलो पटक २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन शेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँले घटेको छ।

यसको अर्थ बजारमा लगानीकर्ताहरुले बोनस शेयर दिने प्रस्तावलाई ‘रेड सिग्नल’ दिएका छन्। जुन प्रस्ताव र निर्णय विवादितसमेत बनेको छ।

आज साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पनि दोहोरो अंकले ओरालो लागेको छ। आज बिहानैदेखि घटबढ भईरहेको सेयरबजार अन्त्यमा १७ दशमलव १५ अंकले घटेर कारोबार २६ सय ५० अंकमा पुगेर बन्द भएको छ।

नेप्से घटेसँगै टेलिकमको शेयर मूल्य पनि घटेर १,६२६ रुपैयाँमा आएको छ।

मंगलबार टेलिकमको २ लाख ३ हजार कित्ता शेयर कारोबार हुँदा ३४ करोड २३ लाख रुपैयाँको किनबेच भएको नेप्सेको तथ्यांकमा उल्लेख छ।

पछिल्लोसमय उच्च बिन्दूमा पुगेको टेलिकमको शेयर लाभांशको सूचना चुहाएर ठूला लगानीकर्ताले शेयर मूल्य बढाएको र लाभांश घोषणापछि बिक्री गर्न थालेर शेयर मूल्य घटेको आंशका गरिएको छ।

टेलिकम बोर्डमा यसअघि नै बोनस शेयर दिने प्रस्ताव पारित हुने हल्ला चलेको थियो भने सो जानकारी सिमित लगानीकर्ताहरुलाई थाहा दिईएको बताईएको छ।

सो बोनस शेयर दिने विषय पनि विवादरहित हुन सकेको थिएन्। जसमा पब्लिक बोर्ड प्रतिनिधिले चलखेल गरेको र अन्य सरकारी प्रतिनिधिहरुले  मुकदर्शक भएर स्वीकृत गरेको आरोप लागेको छ।

सिमित लगानीकर्ताहरुमाझ कम्पनीको सूचना चुहाएर महँगो मूल्य १,७९९ सम्म बजारमा मूल्य उचालिएको थियो।

तर आज शेयर मूल्य घटेसँगै लगानीकर्ताहरुले बोर्डको प्रस्तावित निर्णयलाई सांकेतिकरुपमा विरोध गरेको देखिएको छ।

टेलिकमको शेयर कारोबार गरेका एक लगानीकर्ताले कम्पनीको निर्णयले बजारलाई पुरै प्रभावित पारेको आरोप लगाए।

“टेलिकमले यसअघि नगद लाभांश दिँदै आएको थियो। तर ठूला शेयर लगानीकर्ताहरुको मिलेमतोमा मूल्य उच्च बनाएर बोनसको निर्णय भएको हल्ला आएपछि बजार मूल्य पनि घट्यो। अब शेयर मूल्य घटाएर साना लगानीकर्ताहरु फस्ने देखियो,” उनले भने।

टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले चैत १० गतेसम्मका शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको छ। कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार