स्मार्ट लाइसेन्स लिन सास्ती, नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाम

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
स्मार्ट लाइसेन्स लिन सास्ती, नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाम

काठमाडौं ।

सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न र फाराम बुझाउन मात्रै कम्तीमा नौ घण्टा लाग्छ । त्यहीमाथि दैनिक बाँडिने दुई सय ‘टोकन’ हात पार्न बिहान सखारै यातायात कार्यालय पुगेर लाम कुर्नुपर्ने अवस्था छ।

लाइनमा दिउँसो ३ः३० बजे भेटिनुभएका रौतहट वसन्तपुरका बालकिशोर साहले भने,“कार्यालय बिदा लिएर बिहान ७ बजे लाममा बसेको, अहिले पनि फराम बुझाउने लाइनमै छु ।”

लाइसेन्स नवीकरणको कामले यातायात कार्यालय पुग्नुभएका साहले भने, “एक पटक लाममा बसेर हुँदैन, हरेक झ्यालमा लाइन बस्नुपर्छ। फाराम बुझाउने काम आज सकिन्छ कि ?”

यातायातको एकान्तकुना कार्यालयले नवीकरण, दर्ता र लाइसेन्स वितरणको काम गर्छ । त्यसैले एकान्तकुनामा बिहानैदेखि सेवाग्राहीको चाप हुन्छ। नवीकरणको फाराम बुझाए पनि लाइसेन्स कहिले आउँछ भन्ने टुङ्गो नहुने सेवाग्राही साहले बताए।

ठेलमठेल गर्दै लाइनमा उभिएका सिन्धुपाल्चोकका दानबहादुर श्रेष्ठले १४ महिनापछि लाइसेन्स लिन आएको बताए। त्यस्तै काठमाडौँ कपनका रामकुमार परियार पनि १३ महिनापछि लाइसेन्स लिन आएका थिए। उनले भने, “लाइसेन्स लिन पनि एक डेढ वर्ष कुर्नुपर्ने, कस्तो विडम्बना हो ? जनताले दुःख पाएको त कसैलाई मतलब छैन, विधि पुर्याएर लाइसेन्स लिन पनि यति गाह्रो ?”

एकान्तकुना कार्यालयमा दैनिक एक हजार पाँच सय हाराहारीमा सेवाग्राही पुग्छन् । एकान्तकुना कार्यालयका अनुसार लाइसेन्स नवीकरणका लागि मात्रै दैनिक तीन सय जनासम्म सेवाग्राही एकान्तकुना पुग्छन् । लाइन व्यवस्थित पार्ने जनशक्तिसमेत कार्यालय परिसरमा देखिँदैन । उता कार्यालयका कर्मचारीको गुनासो छ, पर्याप्त कर्मचारी नै छैनन् । कार्यालयका शाखा अधिकृत वृहस्पति तामाङले भने, “मुख्य समस्या समयमै लाइसेन्स प्रिन्ट हुन नसक्नु नै हो ।”

उनका अनुसार एकान्तकुना कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक छ । सोहीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ। यातायातसम्बन्धी धेरै अधिकार प्रदेशमा रहेका कारण पनि समन्वयमा जटिलता रहेको तामाङको अनुभव छ। उनले भने, “सङ्घीयता कार्यान्वयनसँगै अधिकारको बाँडफाँटले पनि अन्योल देखिएको छ । यसलाई व्यवस्थित गर्ने प्रयासमै छौँ ।”

सेवाग्राहीको मागअनुसार यातायात व्यवस्था कार्यालयले लाइसेन्स आपूर्ति गर्न नसक्दा दुई वर्षसम्म कुर्नुपर्ने अवस्था छ। तर पछिल्लो समय प्रिन्ट गर्न बाँकी लाइसेन्सहरू क्रमशः घटाउँदै लगिएको विभागले जनाएको छ।

विभागका अनुसार झन्डै सात लाख प्रति प्रिन्ट गर्न बाँकी लाइसेन्स दुई लाखमा झारिएको छ। आगामी जेठसम्म बाँकी रहेका सबै लाइसेन्स प्रिन्ट गरिने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । हाल दैनिक छ हजार प्रति लाइसेन्स प्रिन्ट भइरहेको छ। गोरखापत्रबाट

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार