
काठमाडौं ।
नयाँ खाता खोल्न प्रतिबन्ध लगाएपछि भारतको भुक्तानी सेवा प्रदायक कम्पनी पेटीएम अर्को समस्यामा फसेकोछ। पछिल्लो अपडेट जानकारीअनुसार चिनियाँ कम्पनीहरूसँग पेटीएम पेमेन्ट बैंकको डाटा साझेदारीको मुद्दा बाहिर आएको छ।
ब्लूमबर्गले स्रोतलाई उदृत गर्दै लेखेको समाचारअनुसार रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले पछिल्ला दिनमा गरेको वार्षिक अनुसन्धानमा कम्पनीको सर्भरले चीनस्थित फर्मसँग महत्वपूर्ण जानकारी आदानप्रदान गरिरहेको पाइएको थियो। यो फर्मको पेटीएम पेमेन्ट बैंकमा अप्रत्यक्ष हिस्सेदारी रहेको छ।
पेटिएम पेमेन्ट्स बैंक पेटिएम र यसका संस्थापक विजय शेखर शर्माको संयुक्त उद्यम हो। चीनको अलिबाबा ग्रुप होल्डिङ कम्पनी लिमिटेड र यसको सम्बद्ध ज्याक मा एन्ट ग्रुप कम्पनीले पेटीएममा शेयर लगानी गरेका छन्। यो जानकारी पेटीएमले यसअघि नै भारतको शेयर बजार नियामक सेबीलाई पनि दिएको छ।
तर, पेटीएमले चिनियाँ कम्पनीसँगको डाटा शेयर गरिएको कुरालाई अस्वीकार गरेको छ।
यहि मार्च ११ मा, आरबीआईले पेटीएम पेमेन्ट बैंकलाई नयाँ खाता खोल्न कडाइका साथ प्रतिबन्ध लगाएको थियो। सो निर्देशनमा आरबीआईले पेटीएम बैंकलाई आईटी प्रणालीको अडिट गर्न पनि भनेको थियो। यद्यपि, यो सम्पूर्ण मामलामा, पुराना ग्राहकहरूसँगको कारोबारमा कुनै प्रतिबन्ध लगाइएको छैन।
सार्वजनिक रिपोर्टअनुसार आरबीआईले पेटीएम पेमेन्ट्स बैंकमा नयाँ ग्राहक थप्न प्रतिबन्ध लगाउनुमा ग्राहकको डाटा चिनियाँ फर्मसँग साझेदारीलाई कारण मानिएको थियो।
पेटीएम पेमेन्ट बैंकले यस विषयमा एक विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेको छ। कम्पनीले सो समाचारलाई आधारहीन भनेको छ।
पेटीएमले भन्यो, ‘चिनियाँ कम्पनीहरूसँगको डाटा लीक भएको दाबी गर्ने ब्लूमबर्गको रिपोर्ट गलत र सनसनीपूर्ण छ।’
यहि कारण भारतीय शेयर बजारमा सोमबारको कारोबार सत्रमा पेटीएमको शेयर १३ प्रतिशतभन्दा बढीले घटेको थियो। तर, पछि १२ प्रतिशतभन्दा बढीको गिरावटसँगै कारोबार बन्द भएको भारतीय मिडियाहरुले जनाएका छन्।
प्रकाशित: १ चैत्र २०७८, मंगलवार