
काठमाडौं ।
माघ महिनामा मोबाइल बैकिङमार्फत् गरिएको कारोबार सङ्ख्यामा वृद्धि भए पनि रकम भने घटेको छ।
चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर र पुष मसान्तमा भने रकम र सङ्ख्यामा निकै बढोत्तरी हुने क्रम रहेकामा माघमा आउँदा केही फरक आँकडा देखिएको छ।
नेपाल राष्ट्र बैंकद्वारा हालै जारी माघ मसान्तसम्मको प्रतिवेदन अनुसार माघ महिनामा मोबाइल बैकिङमार्फत् ९२ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख ४४ हजार ७१० ओटा कारोबार भएका छन्।
कारोबार सङ्ख्या बढे पनि यो अवधिमा कारोबार रकम भने उल्लेख्य मात्रामा घटेको पाइएको छ।
अघिल्लो महिना अर्थात् पुष मसान्तसम्म मोबाइल बैंकिङमार्फत् ९४ अर्ब ४० करोड ७० लाख रुपैयाँ बराबरको १ करोड ३५ लाख १८ हजार ९३६ ओटा कारोबार भएको थियो।
यो आँकडालाई तुलनात्मक रुपमा हेर्दा पुषदेखि माघ मसान्तसम्मको १ महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम १ अर्ब ६४ करोड रुपैयाँले घटेको छ।
तर सोहि अवधिमा मोबाइल बैंकिङमार्फत् हुने कारोबार सङ्ख्या भने ३ लाख २५ हजार ७७४ ले बढेको पाइएको छ।
प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार