
काठमाडौं ।
नेपाल टेलिकमले बजारमा अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेको भन्दै ग्राहकहरुलाई त्यसमा सचेत हुन भनेको छ।
सरकारी मोबाइल सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, एनटी फाइबर आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ।
हाल नेपाल टेलिकमले कागजमा प्रिन्ट भई आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त ई–पिन तथा एमपोसमार्फत समेत रिचार्ज सेवा उपलब्ध गराइरहेको छ।
“तर हाल बजारमा विभिन्न नामबाट नेपाल टेलिकमका सेवाहरू समेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेको जानकारीमा आएकाले सम्पूर्ण ग्राहक महानुभावहरूलाई सचेत रहन तथा नेपाल टेलिकमको आधिकारिक रिचार्ज कार्ड मात्र प्रयोग गर्नुहुन,” कम्पनीले भनेको छ।
यसअघि पनि बेला बेलामा नेपाल टेलिकमको भन्दै अनधिकृत र नक्कली रिचार्ज कार्डहरू बिक्री गरेको भेटिएका थिए।
प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार