
काठमाडौं ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले गुणस्तरिय दूरसञ्चार सेवाको विस्तारलाई सर्वसुलभ बनाउन दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
रसुवाको उत्तरगया गाँउपालिकामा शुक्रवार आयोजित “दूरसञ्चार सेवाको विकास र बिस्तार: अवसर तथा चुनौति बिषयक” कार्याशाला गोष्ठिमा केन्द्रिय सदस्य आचार्यले सूचना प्रविधिको प्रयोगसंगै जोखिम पनि बढ्दै गएकाले व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाममा समेतमा सजक भएर लाग्नु पर्ने बताए।
सूचना प्रविधिको प्रयोग गरि आम नागरिकहरुलाई छिटो छरितो सेवा प्रदान गर्न स्थानिय निकायहरुले आफ्नो ध्यान केन्द्रित गर्न जरुरी रहेको भन्दै उनले रसुवा जिल्लामा मोबाईल सेवाको गुणस्तर वृद्धिका लागि स्थानियको आवश्यकताअनुसार टावरहरु स्थापना गर्न आवश्यक रहेको बताए।
जिल्लाका महत्वपूर्ण स्थानहरुमा फ्रि वाईफाईको व्यवस्था गर्न प्राधिकरणलाई अनुरोध गर्दै केन्द्रिय सदस्य आचार्यले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै प्राधिकरणले सबै मतदान केन्द्रहरुमा सूचना प्रविधिको पहुँज स्थापना गर्न आवश्यक व्यवस्था गर्न जरुरी रहेको बताए।

कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच सर्वसाधारणमा पुर्याउन प्राधिकरण क्रियाशिल रहेको बताए। सूचना प्रविधिको प्रयोगलाई व्यापक र बिस्तार गर्न प्राधिकरणले ग्रामीण क्षेत्रका सबै सामुदायिक विद्यालयहरुमा निशुल्क ईन्टरनेट सुबिधा र आईटी ल्याब स्थापनामा सघाईरहेको उनले बताए।
सेवा प्रदायक छनोट गर्न पाउने अधिकार प्राधिकरणले स्थानिय निकायहरुलाई उपलब्ध गराएको जानकारी दिँदै उनले सार्वजनिक स्थान मठमन्दिरहरुमा दूरसञ्चार प्राधिकरण निशुल्क ईन्टरनेटको सूविधासमेत उपलब्ध गराउँदै आएको बताए।
सूचना प्रविधिको क्षेत्रमा पहुँच विस्तार हुँदा त्यसले जोखिमहरू समेत निमत्याएकाले सम्बन्धित व्यक्तिको डाटाको सुरक्षा, व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाम सबैको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले दूरसञ्चार सेवा तथा सुविधा सर्वसुलभ र भरपर्दो बनाउदै सबैको पहुँचमा पुर्याउन प्रधिकरण लागि परेको बताए।

कार्यक्रममा उत्तरगया गाउँपालिकाका अध्यक्ष उन्पेद्र लम्सालले विश्वमा फैलिएको कोभिड १९ संक्रमणको क्रममा दूरसन्चार प्राधिकरणले दिएको सेवाबाट नै दूरदराजका छात्रछात्राहरुले यसको प्रयोग गरि शिक्षा पाउन सफल भएको बताए। सूचना प्रविधिको प्रयोगले स्थानिय निकायबाट प्रदान गरिने सेवाहरुलाई सर्वशुलभ बनाउन सहयोग पुगेको उनले बताए।
प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार