ईन्जिनियरहरुको छाता संस्थाको नेतृत्व चुन्न मतदान हुँदै, कस्ले मार्ला बाजी ?

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
ईन्जिनियरहरुको छाता संस्थाको नेतृत्व चुन्न मतदान हुँदै, कस्ले मार्ला बाजी ?
नेपाल ईन्जिनियर्स एशोसिएशन (नेइए)को पुल्चोक ललितपुरमा रहेको कार्यालय भवन । फाइल तस्बिर

काठमाडौं ।

नेपालभरका ईन्जिनियरको छाता संस्था नेपाल ईन्जिनियर्स एशोसिएशन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ।

एशोसिएशनको ३३ औँ कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भइरहेको छ।

निर्वाचनका लागि पाँच समूह चुनावी प्रतिस्पर्धा छ। चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीचसमेत तालमेल छैन। सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर (सिडेन) ले इ डा. हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ।

तर उक्त उम्मेदवारीप्रति असन्तुष्ट समूहले कांग्रेसकै दिलीप कुमार झाको नेतृत्वमा अर्को लोकतान्त्रिक ईन्जिनियर समूह बनाएर चुनावी मैदानमा होमिएको छ।

यस्तै नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनको तर्फबाट डा सुरज लामिछानेको टिम चुनावमा प्रतिस्पर्धा गरिरहेको छ।

नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूह र जसपानिकट नेपाल ईन्जिनियरिङ संघको तर्फबाट संयुक्तरुपमा इ डा हरिराम पराजुली तथा नेपाल मजदुर किसान पार्टी निकट ईन्जिनियर समाज नेपालका ई राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचन समितिकाअनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान जारी छ। निर्वाचन समितिले २५ बुथमा मतदानको व्यवस्था मिलाएको र काठमाडौँमा मात्र ११ हजारभन्दा बढी मतदाता छन् ।

देशभरका १४ स्थानमा बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। चुनावका लागि देशभर विभिन्न स्थानहरुमा निर्वाचन बुथ तोकिएका छन् र सो स्थानबाटै सदस्य ईन्जिनियर मतदाताहरु चुनावमा सहभागी हुन सक्नेछन्।

देशभर २१ हजार ६८० मतदाता छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। यस निर्वाचनले आगामी दुई वर्षको लागि एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्षलगायतका नयाँ सदस्यहरु चुन्नेछ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार