जफत गरेका ड्रोनहरु लिलामी गर्दै नागरिक उड्डयन प्राधिकरण

  • Technology Khabar | २६ फाल्गुन २०७८, बिहीबार
जफत गरेका ड्रोनहरु लिलामी गर्दै नागरिक उड्डयन प्राधिकरण
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अवैधरुपमा संचालन गर्दा जफत गरेका ड्रोनहरु लिलामीमार्फत बिक्री गर्ने भएको छ। प्राधिकरणले सम्बन्धित निकायबाट जफत भएर आएका २० ओटा मानवरहित हवाई उपकरण अर्थात ड्रोनहरु लिलाम बिक्री गर्ने भएको हो।

यसको लागि नागरिक उड्डयन प्राधिकरणले बुधबार सिलबन्दी बोलपत्र आह्वान गरेको छ। जसअनुसार हवाई क्षेत्रको नियामक निकायले हाल जे जस्तो अवस्थामा छन् सोही अवस्थामा २० ओटा ड्रोनहरु गोप्य शिलबन्दी लिलाममार्फत एकमुस्ट बिक्री गर्नेछ।

लिलामीको सूचनाअनुसार जफत भएका २० ओटा ड्रोनको न्यूनतम कबोल मूल्य मूल्य अभिवृद्धि करसहित ७ लाख ५९ हजार ४०८ रुपैयाँ तोकिएको छ भने बोलकबोल दाताले आफुले कबोल गरेको रकमको १० प्रतिशत रकम बैंक जमानत जम्मा गर्नुपर्नेछ।

खरिद गर्न इच्छुकहरुले बुधबारदेखि २१ दिन भित्र शिलबन्दी बोलपत्र दिन सक्ने छन् त्यसैगरी सो बोलपत्र स्वीकृत भएको मितिले १५ दिनभित्र ड्रोनहरु एकमुष्ठ उठाई लानुपर्ने प्राधिकरणले जनाएको छ।

स्मरणरहोस् नेपालमा ड्रोन उडानका लागि कानूनी स्वीकृती लिएर निश्चित मापदण्ड पालना गर्दै मात्र उडान गर्न सकिनेछ।

तर बेला बेलामा अनुमति बिना प्रयोग गरिएका ड्रोनहरु प्रहरीले नियन्त्रणमा लिएर प्राधिकरणलाई बुझाउँदै आएको छ।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...