
काठमाडौं ।
इलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्सले ४८ ओटा थप स्टारलिंक इन्टरनेट स्याटेलाइटलाई कक्षमा प्रक्षेपण गरेको छ। यी स्याटेलाइट (भूउपग्रह)हरूलाई कक्षमा राख्न फाल्कन–९ रकेटले मार्च ९ मा अमेरिकाको फ्लोरिडाबाट उडान भरेको थियो।
रकेटको पहिलो चरण एट्लान्टिक महासागरमा अवस्थित स्पेसएक्स ड्रोन जहाजमा फर्कियो। विशेष कुरा भनेको यसको पछिल्लो १० हप्तामा स्पेसएक्सको १० औं प्रक्षेपण हो। प्रत्येक प्रक्षेपणमा ४८ स्याटेलाइटहरू पठाईएका थिए। स्पेसएक्सले यी स्याटेलाइटहरू मार्फत इन्टरनेट कनेक्सन उपलब्ध नभएका क्षेत्रमा कम विलम्बतासहित उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट ल्याउन चाहेको जनाएको छ।
यी स्याटेलाइटहरूले एकसाथ पृथ्वीको तल्लो कक्षमा ठूलो कन्स्टलेसन बनाउँछन्, जसलाई स्टारलिंक भनिन्छ। स्पेसएक्सले यसअघि नै २,००० भन्दा बढी स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। यस वर्षको अन्त्यसम्ममा थप धेरै स्याटेलाइटहरू प्रक्षेपण हुने अपेक्षा गरिएको छ। हाल स्पेसएक्सले १२,००० भन्दा बढी स्टारलिंक स्याटेलाइट प्रक्षेपण गर्ने अनुमति पाएको छ।
प्रक्षेपणसँग सम्बन्धित भिडियो साझा गर्दै, इलन मस्कले ट्वीट गरे कि ४८ ओटा थप स्टारलिङ्कहरू भर्खर कक्षमा आइपुगेको बताएका छन्।स्पेसएक्सले ३० हजार स्याटेलाइट प्रक्षेपण गर्न स्वीकृति मागेको छ।
प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार