
काठमाडौं ।
ह्वावे यूकेका दुई गैर कार्यकारी निर्देशकले यूक्रेन युद्धबारे कम्पनीले लिएको अडानको विरोधमा राजीनामा दिएका छन्।
ह्वावे यूकेले रुसले यूक्रेनमाथि गरेको हमलाको विरोधमा बोल्न गरेको आनाकानीले आफूहरुलाई यो पदमा बसिरहन उपयुक्त नलागेको कम्पनीका दुई गैर कार्यकारी निर्देशक सर एन्ड्र्यू काहन तथा सर केन ओलिसालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
ह्वावे यूकेले ती दुवै कर्मचारीलाई उनीहरुका अमूल्य मार्गनिर्देशनका लागि धन्यवाद दिएको छ।
ह्वावेले रुससँगको व्यवसाय कायम राख्छ वा राख्दैन भन्ने बीबीसीको प्रश्नमा कम्पनीले भनेको छ, ‘हामी यस सम्बन्धमा कुनै टिप्पणी गर्न चाहँदैनौं।’
ह्वावेले यूक्रेनमाथि रुसले गरेको हमलाको तत्काल भर्त्सना गर्नुपर्ने ती दुवै निर्देशकहरुको विचार थियो।
दुवैले कम्पनीका लागि यो जटिल विषय भए पनि कम्पनीका यूके बोर्ड निर्दशकका हैसियतले एउटा न्यायपूर्ण अडान राख्नुपर्ने उनीहरुको धारण रहेको बीबीसीको बुझाई छ।
प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार