
काठमाडौं ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा बीटेक एडआईटी (ब्याचलर अफ टेक्नीकल एजुकेशन इन इनफर्मेसन टेक्नोलोजी) विषयमा चार वर्षे स्नातक कार्यक्रम सुरुवात भएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बुधबार एक कार्यक्रमबीच सो कार्यको सुरुवात गरे। सूचना प्रविधिको क्षेत्रमा प्राविधिक शिक्षक तयार गर्नु काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेसनल स्टडीजको सहकार्यमा कार्यक्रम सुरुवात गरेको जानकी कलेजका अध्यक्ष पंकज जालानले बताए।
जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन गरिने चार वर्षे बीटेक एडआईटी कार्यक्रम आठ सेमेस्टरमा विभाजित गरिएको र कुल भार १३८ क्रेडिट आवर रहेको बताइएको छ ।
नेपाल सरकारले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमलाई सहयोग गर्न कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नसीपको दोस्रो वर्षदेखि विद्यालयमा अध्यापन गराउनु पर्ने कार्यक्रमको मोडेल रहेको अध्यक्ष जालानले बताए।
कक्षा १२ वा सो सरह वा सीटीइभीटीले सञ्चालन गरेको तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेको विद्यार्थीको छनौट काठमाडौंं विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको आधारमा गरिने छ।
अध्यक्ष जालानकाअनुसार मधेस प्रदेशमा साक्षरता र शैक्षिकस्तरमा वृद्धि गर्न प्रदेशका जेहेन्दार विद्यार्थीले जनकपुरधाममा नै बसेर काठमाडौंं विश्वविद्यालयले सञ्चालन गरेको सूचना प्रविधिसँग सम्बन्धित स्नातकोत्तरको कार्यक्रममा अध्ययन गर्ने अवसर पाउने भएका छन् ।
अध्ययन पूरा भएपछि प्रदेशको शैक्षिक संस्थामा अध्यापन गर्न पाउने अवसर भएकाले ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) लाई बिस्तारै रोक्न सकिने विश्वास लिएको उनको भनाई छ।
प्राविधिक शिक्षालयमा अध्यापन गराउने शिक्षकको अभाव कम गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्याउने काठमाडौंं विश्वविद्यालयका स्कुल अफ एजुकेशनका डीन बालचन्द्र लुईटेलले बताए । गोरखापत्रअनलाइनबाट
प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार