
काठमाडौं ।
गम्भीर प्रकृतिको अपराध अनुसन्धान प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले यूट्युब च्यानलमार्फत् वक्तव्यबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक जना नागार्जुन नगरपालिका-८, भिमढुंगा घर भएको ५३ वर्षीय हरि उदासी भनिने हरि परियार रहेका नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
यस्तै अर्का व्यक्ति विशाल नेपाल नामक यूट्युब च्यानल सञ्चालन गर्दै आएका लमजुङको राइनास नगरपालिका स्थायी घर भई हाल तारकेश्वर नगरपालिका-४ शेषमति बस्ने २७ वर्षीय निशान चिलवाल रहेका छन्।
पक्राउ परेका दुवैले गम्भीर प्रकृतिको अपराध अनुसन्धान प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले विशाल नेपाल र नेपाल मिडिया यूट्युब च्यानलमार्फत् अनर्गल वक्तव्यबाजीका साथ पीडितको मानमर्दन र चरित्रहत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण गरेको आरोप छ।
उनीहरुका गतिविधि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पर्न आएकाले गत फागुन २५ गते पक्राउ गरी ७-७ दिन म्याद थपेर अनुसन्धान भइरहेको साइबर ब्यूरोले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार