स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान नगरिने

  • Technology Khabar | २५ फाल्गुन २०७८, बुधबार
स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान नगरिने
राम र लक्ष्मण रिमाल दाजुभाइले बनाएको ईभीएम उपकरणको परीक्षण प्रयोग गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । फाइल तस्बिर

काठमाडौं ।

स्थानीय तह निर्वाचन, २०७९ मा कागजको मतपत्रमै मतदान हुनेभएको छ । आयोगले विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन–ईभीएम) प्रयोगका लागि सम्भाव्य अध्ययन गरे पनि स्थानीय निर्वाचनमा प्रयोग सम्भव नहुने जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा देशैभरि कागजकै मतपत्रमा मतदान हुने सुनिश्चित भएको जानकारी दिए। उनले भने “सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कार्यदलको सुझाव तथा प्राविधिक समस्याले ईभीएम प्रयोग हुने अवस्था रहेन ।”

स्थानीय निर्वाचनपछि हुने अन्य निर्वाचनमा प्राथमिकतामा राखेर ईभीएमको प्रयोगबारे तयारी गरिने उनले बताए।

माघ २६ गते सम्पन्न आयोग बैठकले ईभीएमको प्रयोगबारे सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्राविधिक समिति बनाएर ईभीएमको प्रमाणीकरण गरेपछि मात्रै प्रयोग गर्न सकिने सुझाव दिएको छ।

“तर त्यस्तो प्राविधिक समिति गठन गरेर प्रमाणीकरण गर्ने कार्य कानुनमा कतै व्यवस्था नभएको,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। कार्यदलको सुझावपछि आयोगले सरकारसँग परामर्श गर्ने जनाएको थियो ।

आयोगले कम्तीमा काठमाडौँ उपत्यका वा काठमाडौँ जिल्लाभित्रै भए पनि स्थानीय निर्वाचनमा ईभीएम प्रयोग गर्ने जनाएको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “कागजको मतपत्रमा मतदान गर्न अभ्यस्त मतदातालाई ईभीएममार्फत मतदान गर्न मतदाता शिक्षा दिनुपर्ने देखियो, त्यस आधारमा समेत प्रमाणीकरणका लागि अनिश्चित समय कुरेर ईभीएमसहित सबै वडा टोलमा पुग्न सम्भव देखिएन ।”

स्थानीय तह निर्वाचनको अब ६६ दिन मात्रै बाँकी छ।

उनले नेपालमै डिजाइन गरिएको विद्युतीय मतदान उपकरण प्रयोग गर्न आयोगले प्रयास गरेकोमा प्रमाणीकरणको समस्याले स्थानीय निर्वाचनमा सम्भव नहुने निचोडमा पुगेको बताए। नेपालका राम र लक्ष्मण रिमाल दाजुभाइले ईभीएम उपकरण डिजाइन गरेका छन् । उक्त उपकरणबाट आयोगको कार्यालयको सभा कक्षमा माघ २६ गते नै साङ्केतिक परीक्षण गरिएको थियो ।

कार्यदलको सुझावसहित प्रमाणीकरणको काम गरिदिन नेपाल सरकारलाई पत्राचार गर्ने तयारी गरेको थपलियाले खुलाए । “प्रमाणीकरण भएर आए र विश्वसनीय देखियो भने राजनीतिक सहमति गरेर यसपछिको निर्वाचनमा ईभीएम प्रयोग गर्नेछौँ,” उनले प्रस्ट्याए।

नेपालमा पहिलो पटक संविधान सभा निर्वाचन–२०६४ मा काठमाडौँ क्षेत्र नं. १ मा ईभीएमको प्रयोग गरिएको थियो । त्यसपछि धनुषा क्षेत्र नं. ४ लगायतमा उपनिर्वाचनको क्रममा ईभीएमको प्रयोग गरियो । गोरखापत्रबाट

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...