
काठमाडौं ।
भक्तपुरको चाँगुनारायण नगरपालिका र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबीच नगरपालिकाका विद्यार्थीलाई दक्ष प्राबिधिक बनाउन पूर्ण छात्रबृत्ति प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नगरपालिकामा नगर प्रमुख सोमप्रसाद मिश्र र फाउन्डेशनका अध्यक्ष पंकज जालानले गरेको सम्झौता पत्रअनुसार एसियन प्यासिफिक युनिभर्सिटीको बीएसस्सी सूचना प्रबिधि विषयको प्रत्येक नयाँ शैक्षिक सत्रमा नगरपालिकाबाट छनोटमा परेका कम्तीमा ३ विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति, कम्तीमा ४ विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृत्ति र कम्तिमा ५ विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने सहमति भएको छ।
नगरपालिकाका प्रमुख मिश्रकाअनुसार नगरपालिकाले नगर क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गरि डिजिटल चाँगुनारायण निर्माणमा सहकार्य गर्न, स्वदेशमा उत्पादित दक्ष जनशक्तिहरुलाई स्थानीय सेवामा पहुँच पुर्याउन र न्यून आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई उच्च प्राविधिक शिक्षामा पहुँच वृद्धि गर्न समझदारी गरिएको हो।
समझदारीसँगै नगरपालिकाको समन्वयमा नगरपालिका क्षेत्र एवं आसपासका स्थानीय तहमा अध्ययनरत कम्तीमा ५० विद्यार्थीहरुलाई हरेक आर्थिक वर्ष कम्तीमा एउटा शिप विकास तथा क्षमता अभिवृद्धि तालिममासमेत सहभागि गराउँदै उक्त कलेजमा पठाइने भएको छ ।
यसका साथै प्रत्येक शैक्षिक सत्रमा नगरपालिकाले कलेजबाट मनोनयन भई आउने सूचना प्रविधि संकायमा न्यूनतम ५ औँ सेमेष्टर अध्ययन गरिसकेका ५ जना विद्यार्थीहरुलाई सूचना प्रबिधिको स्वयंसेवीको रुपमा प्रशिक्षार्थी कार्यक्रममा सहभागि गराउने बताईएको छ।
प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार