
काठमाडौं ।
मेटा अन्तर्गतको फोटो एप इन्स्टाग्रामका दुई ओटा स्वतन्त्र एपहरु हटाइएका छन्।
केही प्रयोगकर्ताले यसबारेमा थाहा पाएर ट्विटरमा पोस्ट गरेको टेकक्रन्चले जनाएको छ।
यसअघि पनि यस्ता एपहरु बेलाबेला हटाइने गरेकामा यसपटक भने कम्पनीले आधिकारिक जानकारी नदिइकन नै हटाएको जीएसएसएरिनाले उल्लेख गरेको छ।
हाल सुटुक्क हटाइएकामा बूमर्याङ तथा हाइपरल्याप्स एपहरु रहेका र यी दुवै एप अब आईओएस एपस्टोर तथा गुगल प्लेस्टोरबाट डाउनलोड गर्न नसकिने भएका हुन्।
गत हप्ता इन्स्टाग्रामले आईजीटीभी एप हटाउल लागेको घोषणा गरेको थियो। आईजीटीभी केही वर्षअघि मुख्य एपमा एकीकृत गरिएको थियो।
बूमर्याङ तथा हाइपरल्याप्स एपहरु स्मार्टफोनमा सीमित पर्फर्मेन्श भएका बेला सार्वजनिक गरिएका थिए। यसले केही मोबाइलको भन्दा राम्रो टाइमल्याप्स भिडियोको सेवा दिएको थियो। यी एपहरु इन्स्टाग्रामको मुख्य एपमै समावेश गरिसकिएको छ।
प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार