
काठमाडौं ।
रुस तथा बेलारुसका ह्याकरहरु यूक्रेनमा फिशिङमा संलग्न भइरहेका पाइएको छ।
गुगलका अनुसार रुसका फ्यान्सीबियर लगायतका चर्चित ह्याकरहरु पछिल्लो हप्तायता यूक्रेन तथा यसका यूरोपेली समर्थक राष्ट्रहरुका फिशिङ तथा अन्य हमलाहरुमा संलग्न हुँदै आएका पाइएको छ।
कम्प्युटर ह्याकरहरुलाई रोक्ने तथा यूजरहरुलाई ह्याकरका बारे चेतावनी दिने गुगलको जोखिम विश्लेषण गर्ने थ्रेट एनालाइसिस ग्रुपले सोमबार ब्लग पोस्टमा यस्तो जानकारी उल्लेख गरेको छ।
उक्त ग्रुपले विगत २ हप्तायता एपीटी२८ का नामले चिनिने रुसी ह्याकिङ संस्था फ्यान्सीबियरले यूक्रेनी सञ्चार कम्पनी यूकेआरनेटलाई फिशिङ ईमेल पठाउँदै आएको रोयटर्सले जनाएको छ।
रुसले भने आफ्ना शत्रुहरुमाथि ह्याकर प्रयोग नगरेको बताएको छ। फिशिङ मेसेजहरुले यूजरको एकाउन्ट लग इनका विवरण चोर्ने गर्दछन् र यसैमार्फत् ह्याकरहरुले कम्प्युटर र अनलाइन एकाउन्टमाथि नियन्त्रण गर्न सक्छन्।
गुगलले गोस्टराइटर/यूएनसी११५१ नामक बेलारुसको ह्याकरले फिशिङमार्फत् पोल्याण्ड तथा यूक्रेनका सरकार र सेनासम्बद्ध संस्थाहरुका वेबसाइटका एकाउन्टका विवरण हात पार्न खोजेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार