
काठमाडौं ।
बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ। जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो।
आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलकाअनुसार सरकारले ‘मेसिन रिडेवल पासपोर्ट’ (एमआरपी) विस्थापित गरी व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागू गरेपछि जिल्लामा पहिलो पटक विद्युतीय राहदानी वितरण सुरु गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले माघ २८ गतेदेखि जिल्लामा विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको फाराम सङ्कलन सुरु गरेको थियो। पासपोर्टको फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी पासपोर्ट जिल्लामा प्राप्त भएको बताईएको छ।
यसअघि सामान्य एमआरपी पासपोर्ट प्राप्त हुने न्यूनतम एक महिनाको समय लाग्थ्यो। ई–पासपोर्ट १५ दिनमै तयार भएको छ। प्रशासन कार्यालयले व्यक्तिको जैविक विवरण कार्यालयभित्र नै लिने गरेको जनाएको छ। व्यक्तिगत विवरणका लागि सेवाग्राहीले अनलाइनमार्फत फाराम भर्नसक्ने छन्।
प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार