
काठमाडौं ।
पाकिस्तान र भारत बिचको सीमामा ड्रोनमार्फत प्रतिबन्धित वस्तुहरुको ओसारपसार हुने गरेको दाबी गरिएको छ। हालसालै पाकिस्तानी ड्रोन भारतको सीमामा प्रवेश गरेको छ, जसलाई भारतको सीमा सुरक्षा बल (बिएमएफ) ले घटनास्थलमै खसालेको दाबी गरिएको छ।
यो ड्रोन सोमबार बिहान २:५५ बजे पञ्जाबको फिरोजपुर सेक्टरमा देखिएको थियो। ड्रोनसँगै प्रतिबन्धित सामग्रीसहितको ५ ओटा प्याकेट समेत बरामद भएको भारतीय न्यूज एजेन्सी एएनआईले जनाएको छ।
भारतको फिरोजपुर सेक्टरमा, पाकिस्तानबाट भारतमा केही संदिग्ध वस्तु उडेको आवाज सुनिएको थियो। यसपछि सीमा सुरक्षा बललाई तुरुन्तै सतर्क गराइयो र गोली हानी त्यसलाई खसालिएको थियो।
भारतीय मिडियाहरुको रिपोर्टकाअनुसार यसअघि पनि शनिबार, बीएसएफले जम्मूमा एक संदिग्ध पाकिस्तानी ड्रोनलाई देखेपछि गोली हानेर खसालिएकोथियो। बिहान ४:१० बजे अरनियाको नागरिक क्षेत्रमा प्रवेश गर्दा उडिरहेको संदिग्ध वस्तुमा बीएसएफका जवानहरूले गोली हानेका थिए। अरनिया क्षेत्रमा बिहान ४ः१० बजे बीएसएफका जवानहरूले शंकास्पद ड्रोनको आवाज सुने र यसपछि सिपाहीहरूले आवाजको दिशामा फायर गरेको बताईएको छ।
प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार