आन्दोलनको निशानामा सीसी क्यामरा

  • Technology Khabar | २३ फाल्गुन २०७८, सोमबार
आन्दोलनको निशानामा सीसी क्यामरा
सांकेतिक तस्बिर

काठमाडौं ।

सुर्खेतमा पछिल्लो समयमा भएका आन्दोलनमा आन्दोलनकारीले प्रहरीका बिट, पोस्ट र चोक–चोकमा राखिएका सीसी क्यामरालाई निशाना बनाएको पाइएको छ। विशेषगरी वीरेन्द्र चोक, मङ्गलगढी चोक, यरी चोकका विभिन्न ठाउँमा सीसी क्यामरा जडान गरिएको छ भने प्रहरी पोस्ट पनि त्यहीँ छ।

आन्दोलनकारीले आफ्नो पहिचान नदेखियोस भनेर सबैभन्दा पहिले सीसी क्यामरामा तोडफोड गरी प्रहरी बिट तोडफोडमा संलग्न भएको अनुसन्धानले देखाएको छ।

गत सोमबार (फागुन १६ गते) राष्ट्रिय जनमोर्चालगायतका छ दलले संसद्बाट एमसीसी पारित भएको विरोधमा आह्वान गरेको नेपाल बन्दको क्रममा सुर्खेतमा ध्वंसात्मक गतिविधि भए। दिनभर शान्त रहेको प्रदेश राजधानी वीरेन्द्रनगरमा साँझ ५ बजेपछि आगजनीसहित तोडफोड हुनपुग्यो।

ध्वंसात्मक गतिविधि बढ्न थालेपछि सुर्खेत प्रशासनले मङ्गलबार शिवरात्रिका दिन कर्फ्यूसमेत लगाउनुपर्यो। यसैगरी, शनिबार बिहान सुर्खेत उपत्यका प्रवेश गर्ने सुब्बाकुना नाकामा चेकजाँच गर्ने क्रममा कालीकोटका युवक कृष्ण हमालको प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै वीरेन्द्रनगर अशान्त बन्यो। पसल तोडफोड भए, चोक–चोकमा आगो लगाउने काम पनि भयो।

सीसी क्यामरामा पहिचान नदेखियोस् भनेर तथा प्रहरी बिट आक्रोश पोख्नलाई तोडफोड गरेको पाइएको प्रहरीको भनाइ छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत उद्योग वाणिज्य सङ्घलगायतको सहयोगमा बजार क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ ।

सीसी क्यामरा जडान गरेपछि बजार क्षेत्रमा हुने केही आपराधिक घटनामा कमी आएको प्रहरीको भनाइ छ तर यस्तै आन्दोलनको नाममा हुने झडपमा ती सीसी क्यामरामा क्षति पुर्याउने गरिएको सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्ट बताउँछन्। उनका अनुसार वीरेन्द्रनगर बजार क्षेत्रमा करिब ९१ वटा सीसी क्यामरा जडान गरिएका छन।

तीमध्ये केही बिग्रिएका छन् भने केही तोडफोड भएका छन्। बिग्रिएकालाई मर्मत गर्ने काम भइरहेको छ।

एसपी विष्टले अहिले करिब ४५ वटा जति मर्मत गरी पुनः सञ्चालनमा ल्याउने काम भइरहेको र अन्यको मर्मत भइरहेको जानकारी दिए। प्रहरीले सीसी क्यामरामा रेकर्ड गरिएका गतिविधिका आधारमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने गरेको छ। सीसी क्यामरा प्रमाण जुटाउने राम्रो माध्यम भएको भन्दै सबै मर्मत गर्नुपर्ने उनले बताए।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पनि आन्दोलनमा घुसेका अराजक तत्वले सीसी क्यामरा र प्रहरी बिटमा क्षति पुर्याउने गरेको पाइएको बताउँछन्। विगतमा भएका आन्दोलनका क्रममा पनि सीसी क्यामरा र प्रहरी बिटमाथि क्षति पुर्याउने काम भएको र त्यस कार्यले अझै निरन्तरता पाएको उनको गुनासो छ। गोरखापत्रबाट

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार