परीक्षामा चिट चोर्ने आशंकामा भारतको पश्चिम बंगालका जिल्लामा इन्टरनेट बन्द !

  • Technology Khabar | २३ फाल्गुन २०७८, सोमबार
परीक्षामा चिट चोर्ने आशंकामा भारतको पश्चिम बंगालका जिल्लामा इन्टरनेट बन्द !
सांकेतिक तस्विर

काठमाडौं ।

छिमेकी देश भारतका पश्चिम बंगाल राज्यका केही जिल्लाहरूमा मार्च ७ अर्थात सोमबारदेखि मार्च १६ तारिखसम्म इन्टरनेट र ब्रोडब्यान्ड सेवाहरू बन्द हुने भएका छन्।भारतको राज्य सरकारले केही ब्लकमा इन्टरनेट बन्द गर्ने निर्णय गरेको छ। यी क्षेत्रमा अवैध गतिविधि रोक्न यो कदम चालिएको बताईएको छ।

तर इन्टरनेट र ब्रोडब्यान्ड सेवाहरू बन्द गर्नुको कारण भन्ने अचम्मको रहेको छ। जुन सुन्दा पनि आश्चार्य लाग्नसक्दछ।

विद्यार्थीहरुले परीक्षामा चिट चोर्नसक्नेछन भनेर राज्य सरकारले इन्टरनेट र ब्रोडब्यान्ड सेवाहरू बन्द गर्न लागेको बताईएको छ।

भारतका मिडियाहरुको रिपोर्टअनुसार पश्चिम बंगाल सरकारले ७ जिल्लामा इन्टरनेट बन्द गर्ने आदेश जारी गरेको छ। आदेशअनुसार पश्चिम बंगालका ७ जिल्लामा मार्च ७ देखि मार्च १६ सम्म इन्टरनेट र ब्रोडब्यान्ड सेवा अस्थायीरूपमा बन्द गरिने छ।

यी जिल्लामा इन्टरनेट बन्द हुनेछ

आदेश अनुसार पश्चिम बंगालको माल्दा, मुर्शिदाबाद, उत्तर दिनाजपुर, कुचबिहार, जलपाईगुडी, वीरभूम र दार्जिलिङ जिल्लाका केही क्षेत्रमा मार्च ७-९, मार्च ११ र १२ तथा मार्च १४-१६ को बिचमा भारतीय समयअनुसार बिहान ११ बजेदेखि ३:१५ सम्म गैरकानुनी गतिविधिहरू रोक्नको लागि मोबाइल इन्टरनेट र ब्रोडब्यान्ड सेवाहरू अस्थायी रूपमा निलम्बन गरिनेछ।

मिडिया रिपोर्टकाअनुसार राज्य सरकारको आदेशमा अबको केही दिनमा इन्टरनेट ट्रान्समिसन र भ्वाइस ओभर इन्टरनेट टेलिफोनीलाई केही क्षेत्रमा गैरकानूनी गतिविधिका लागि प्रयोग गर्न सकिने गुप्तचर रिपोर्ट आएको छ। आदेशमा भ्वाइस कल, एसएमएस र पत्रपत्रिकामा कुनै प्रतिबन्ध नलगाइएको बताईएको छ।

यस्तो छ कारण
प्रदेशमा हुने बोर्ड परीक्षामा कुनै किसिमको गडबडी हुन नदिन यो इन्टरनेट सेवा बन्द गर्ने निर्णय गरिएको विज्ञहरू बताउँछन् । १० कक्षाको बोर्ड परीक्षा मार्च ७ देखि १६ तारिखसम्म पश्चिम बंगालमा सञ्चालन भइरहेको छ। यस पटक १० कक्षाको बोर्ड परीक्षामा ६ लाख २१ हजार ९३१ छात्रा र ४ लाख ९६ हजार ८९० भारतीय विद्यार्थी सहभागी छन्।

बोर्ड परीक्षामा पेपर लीक हुन नदिन पश्चिम बंगाल सरकारले इन्टरनेट सेवा बन्द गर्न आदेश दिएको बताईएको छ। यसो गर्दा चिट चोर्न र पेपर लीक हुनबाट रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार