
काठमाडौं ।
यूक्रेनका वेबसाइटहरु लगातारको साइबर हमलामा परेका छन्।
कीभको एउटा साइबर अनुगमनकारी संस्थाले रुसले यूक्रेनमाथि हमला गर्न थालेदेखि नै रुसी ह्याकरहरुले हमला गरिरहेको शनिबार जानकारी दिएको हो।
ट्विटरमा गरिएको एउटा पोस्टमा यूक्रेनको स्टेट सर्भिस अफ स्पेशल कम्युनिकेशन्स एन्ड इन्फर्मेशन प्रोटेक्शन नामक संस्थाले ‘रुसी ह्याकरहरुले यूक्रेनी सूचना स्रोतहरुमाथि लगातार साइबर हमला गरेको’ उल्लेख गरेको रोयटर्सले लेखेको छ।
उक्त संस्थाले राष्ट्रपति, संसद, मन्त्रिपरिषद, रक्षा मन्त्रालय तथा आन्तरिक मामिला मन्त्रालयसम्बद्ध वेबसाइटहरुमा लगातार डीडीओएस हमला भएको बताएको छ।
डीडीओएस हमलामा कुनै पनि वेबसाइटका ट्राफिकलाई लक्षित सर्भरमा पठाई त्यसलाई अफलाइन बनाइन्छ।
प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार