
काठमाडौं ।
विश्वभर कोरोनाका केसहरु निकै कम भएका छन्। जसका कारण अवस्था केहि सामान्य हुन थालेको छ। त्यसैलाई ध्यानमा राखेर अब टेक कम्पनी गुगलले पनि आफ्ना कर्मचारीलाई कार्यालयमा बोलाउने घोषणा गरेको छ।
गुगलले आफ्ना केही कर्मचारीहरूलाई अप्रिल ४ तारिखदेखि हप्तामा तीन दिन बोलाउने भएको हो।
गुगलले अमेरिका, बेलायत र एशिया प्यासिफिकका केही कर्मचारीलाई कार्यालयमा आउन आग्रह गरेको मिडियाहरुले उल्लेख गरेका छन्। अर्थात् कोरोनाका कारण रिमोट वर्कको नीति खारेज हुँदैछ। गुगलका कर्मचारीलाई पठाइएको आन्तरिक मेलमा हाइब्रिड कार्य सप्ताह अनुसार कार्यालय सञ्चालन गर्न सकिने बताइएको रिपोर्टहरुमा उल्लेख छ।
हप्ताको तीन दिन अफिसबाट काम गर्ने
अहिले धेरै प्राविधिक तथा वित्तिय कम्पनीहरुले कार्यालय फर्किनुपर्ने बाध्यता बनाएका छन् । अब गुगल पनि यसमा जोडिएको छ। गुगलले अधिकांश कर्मचारीहरूले हप्ताको तीन दिन कार्यालयमा काम गर्ने अनुमान गरेको छ। तर, टोली र भूमिका अनुसार केही परिवर्तन हुन सक्छ। गुगलले अफिस आउनका लागि पनि केही नियम बनाएको छ।
खोप लगाएका कर्मचारीहरूले मास्क लगाउनु नपर्ने
गुगलको नियमअनुसार कार्यालयमा आउने सबैले खोप लगाउनुपर्नेछ। खोप नपाएका र छुट नपाएका कर्मचारीहरूलाई खोप लगाउन वा स्थायी रिमोट वर्कको लागि आवेदन दिन भनिनेछ। गुगलले मेलमा भनेअनुसार कार्यालयमा पूर्णरूपमा खोप लगाएका कर्मचारीहरूले मास्क लगाउन आवश्यक छैन।
अफिस फर्कन नचाहनेहरूला रिमोट-वर्क एक्सटेन्सन
जो कर्मचारी अप्रिल ४ देखि कार्यालयमा फर्कन चाहँदैनन उनीहरुले रिमोट वर्क एक्सटेन्सन लिन सक्नेछन्। गत जुनदेखि, गुगलले विश्वव्यापी रूपमा लगभग १४ हजार कर्मचारीहरूलाई नयाँ स्थानमा जान वा पूर्ण रूपमा घरबाटै काम गर्न अनुमति दिएको छ।
अब कर्मचारी फिर्ता बोलाउने तयारी भएको छ। गुगलले नि:शुल्क खाना, मसाज र ट्रान्जिट जस्ता अफिसका सुबिधाहरूलाई पुनर्स्थापित गरेको छ। व्यापारिक आगन्तुक र बैठकहरूलाई अनुमति दिइएको छ तर कर्मचारीहरूले अझै पनि परिवार वा बच्चाहरू कार्यालयमा ल्याउन सक्दैनन्।
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार