सामाजिक सञ्जालमा भ्रामक तस्बिर र क्याप्सन राखेर भ्रम नफैलाउन साइबर ब्यूरोको अनुरोध

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
सामाजिक सञ्जालमा भ्रामक तस्बिर र क्याप्सन राखेर भ्रम नफैलाउन साइबर ब्यूरोको अनुरोध

काठमाडौं ।

सामाजिक सञ्जालमा भ्रामक तस्बिर तथा क्याप्सन राखेर भ्रम नफैलाउन साइबर ब्यूरोले अनुरोध गरेको छ।

ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिकव दुरुपयोग गरी यूट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा यस्ता भ्रामक क्याप्सनसहितका तस्बिरहरु राख्ने गरेको पाइएको उल्लेख गरेको छ।

ब्यूरोका अनुसार यस्ता सामग्री गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभवित पार्ने उद्देश्यले अपलोड गरिएको र यसले समाजमा उत्तेजना एवं अफवाह फैलाउन मद्दत गरेको जनाएको छ।

यस्ता सामग्रीले सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै उनीहरुको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति निम्त्याएकाले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसूर गरेको ठहर्ने ब्यूरोको भनाई छ।

यसैले अबदेखि यस्ता क्रियाकलाप नगर्न र गरेमा सोही ऐन बमोजिमको कारबाही हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस सम्बन्धमा साइबर ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक नबिन्द अर्याल भन्छन्, ‘पछिल्लो समय यूट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा विभिन्न सेलिब्रिटी तथा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा भ्रामक जानकारी फैलाउने उद्देश्यले सामग्रीहरु सम्प्रेक्षण भइरहेकाले यसो नगरिदिन आग्रह गरेका हाैं।’

अर्यालका अनुसार यस्ता क्रियाकलापले कतिपय गम्भीर प्रकारका अनुसन्धानहरुमा नकारात्मक प्रभाव पार्ने र पीडितहरुलाई समेत असर पार्ने देखिएको छ।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार