कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं ।

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।

बैंकले सेवा विस्तार गर्ने क्रममा फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह न.पा. वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा न.पा. वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देवदह न.पा. मा देवदह मोबाइल एण्ड कम्प्युटर, सितगंगा न.पा.मा सचिन मोबाइल सेन्टर र मध्यनेपाल न.पा मा इशानेश्वर इलेक्टोनिक्सलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

देवदह रुपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन, र देवदह न.पा. वडा नंं ८ का वडा अध्यक्ष डण्डपानी भट्टराई, मध्यनेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखांची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा न.पा. वडा नंं. २ का वडा अध्यक्ष गोबर्धन थापाले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेको बैंकले जानकारी दिएको छ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...