आविष्कार केन्द्रमा दुई दर्जन आविष्कार अन्तिम चरणमा

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
आविष्कार केन्द्रमा दुई दर्जन आविष्कार अन्तिम चरणमा

काठमाडौं ।

प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अवधिमा भएको १० करोड रुपियाँ खर्च पनि धेरै होइन । जनस्तरबाट जम्मा भएको रकम आधार मान्ने हो भने त यो रकम निकै हो पनि ।

समय, खर्चको स्रोत र रकमका आधारमा नतिजा हेर्दा अझ सन्तोषजनक आधार देखिन्छ । राष्ट्रिय आविष्कार केन्द्रले विकास वा आविष्कार गरेका दुई दर्जन औजार तथा उपकरण परीक्षण अन्तिम चरणमा छन् । केही परीक्षणमा सफल भएर प्रयोगमा आइसकेका छन् । केन्द्रका अध्यक्ष डा. महावीर पुनका अनुसार केन्द्र स्थापना भएको तीन वर्ष भएको छ । अहिलेसम्म १५ करोड सङ्कलन र १० करोड रुपियाँ खर्च भएको छ । स्वदेश तथा विदेशमा बसेका नेपाली तथा विदेशीको सहयोगबाट केन्द्र चलेको छ ।

शिशुलाई न्यानो उपहार
केन्द्रले स्वास्थ्य, कृषि र कृषि उद्यम तथा बजारका लागि आवश्यक प्रविधिको अनुसन्धान र विकास गर्दै आएको छ । केन्द्रले न्यानो नानी (शिशुलाई बिजुलीबाट न्यानो पार्ने उपकरण) निर्माण गरेर परीक्षणका लागि विभिन्न अस्पतालमा पठाइसकेको छ । अस्पतालले त्यसलाई रुचाएका छन् । यो उपकरण भारतमा इन्जिनियरिङ विषय पढेर आएका विद्यार्थीको समूहले बनाएको हो ।

पछिल्लो समय अस्पतालमा प्रयोग हुने एक्स–रे, गामाक्यामरा, एमआरआई, सिटीस्क्यानलगायत सबै प्रकारका उपकरणको गुणस्तर परीक्षण गर्ने उपकरण पनि केन्द्रले ल्याएको छ । यो उपकरण ८७ लाख रुपियाँ मूल्यमा अमेरिकाबाट दुई साता अघि मात्रै ल्याइएको अध्यक्ष पुनले जानकारी दिए ।

अहिले ठुल्ठूला अस्पतालले गुणस्तर परीक्षण गराउन भारतबाट विज्ञ झिकाउने गरेका छन् । साना लगानीका अस्पतालले भने परीक्षण नै गराउँदैनन् । यस्ता उपकरण परीक्षण नगराउँदा अस्पतालअनुसार एकै बिरामीको रक्त परीक्षणलगायतका रिपोर्ट फरक–फरक आउने गरेको छ । केन्द्रले अब त्यो समस्या समाधान गर्ने योजना बनाएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मेकानिकल इन्जिनिरिङ अध्ययन गरिरहेका छ जना विद्यार्थीको समूहले रोटरी क्लब अफ विराटनगरको अनुरोधमा मोटरसाइकलको इन्जिनबाट चल्ने एम्बुलेन्स बनाउँदै छ। मोटरसाइकलसँगै बिरामी सुत्न मिल्ने ओछ्यान जोडिएको छ । ओछ्यानमा पाङ्ग्रा पनि जोडिएको छ । त्यसका लागि क्लबले हिरो होन्डा कम्पनीको नयाँ मोटरसाइकल किनेर दिएका हुन्।

एम्बुलेन्स निर्माणमा खटिनुभएका शरद ओलीले भने, “एम्बुलेन्स तराई क्षेत्रका समथर भू–भागमा चलाउन मिल्नेगरी बनाइएको छ। परीक्षण सफल भए थप दुई सयवटा एम्बुलेन्स बनाउने योजना छ ।”

कफी भुट्ने उपकरण
पछिल्लो समय टर्कीमा १५ वर्ष सेवा गरेर फर्केका ताप्लेजुङका राजेश लिम्बूले केन्द्रमा बनाएको कफी भुट्ने उपकरणको परीक्षणसमेत भएको छ । पोखराका एक व्यवसायीले १४ लाख रुपियाँमा उक्त उपकरण किन्ने प्रतिबद्धतासमेत जनाइसकेका छन् । केन्द्रको स्रोत साधन प्रयोग गरेर बनाइएको हुनाले यो उपकरण बिक्रीबाट आउने केही पैसा लिम्बूलाई दिइने र बाँकी रकम केन्द्रकै काममा खर्च गरिनेछ। कफी भुट्ने उपकरण अहिले नेपालमा इटाली, जापान, थाइल्यान्ड, भारत, चीनलगायतका मुलुकबाट आयात गरिन्छ।

उपकरणअनुसार मूल्य पनि फरक–फरक छ । “तर, हामीले बनाएको उपकरण विदेशबाट ल्याउँदाभन्दा आधा सस्तो पर्छ,” लिम्बूले भने। केन्द्रले हरियो चियाको पात सुकाउने, नान रोटी बनाउने विद्युतीय उपकरण बनाएको छ भने खुवा पकाउने उपकरण निर्माणको काम पनि अन्तिम चरणमा पुर्याएको छ । केन्द्रमा अरू पनि नयाँ उपकरण बनाइदिनुपर्यो भन्दै दैनिक १० वटासम्म अनुरोध आउने गरेका छन् । खेतिपातीमा प्रयोग गर्नेदेखि घरायसी काममा प्रयोग हुने साना प्रकारका थुप्रै औजार निर्माण भइसकेका छन् ।

विदेशबाट सामान ल्याउँदा महँगो पर्ने भएकाले यतै बनाइदिन विदेशमा बस्ने नेपालीले समेत नमुना पठाउने गरेका छन् । “तर, सीमित स्रोत र साधनका कारण अनुरोध गर्नेमध्ये १० प्रतिशतको माग पनि पूरा गर्न सकेका छैनौँ,” पुनले भने ।केन्द्रमा नयाँ प्रविधि र उपकरण थपिँदै छन् । केहीअघि नेपालका लागि इजरायल दूतावासको सहयोगमा अत्याधुनिक प्रयोगशाला बनेको छ । केन्द्रले भर्खरै मात्र ५० लाख रुपियाँमा फलाम काट्ने उपकरण (लेजर मेसिन) पनि किनेको छ। अन्य उपकरण किन्ने प्रक्रिया अघि बढेको छ । गोरखापत्रबाट

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १५ फाल्गुन २०७८, आईतवार