
काठमाडौं ।
बागलुङ स्थित प्रशिद्ध शक्तिपीठ कालीका भगवती मन्दिरले विद्युतीय प्रणालीमार्फत भेटी सङ्कलन सुरु गरेको छ।
प्रभु बैङ्क बागलुङ शाखाले मन्दिर व्यवस्थापन समितिको नाममा रहेको खातामा जम्मा हुने गरी ‘क्विक रेसपोन्स’ (क्यूआर कोड) विद्युतीय भुक्तानी जडान गरेपछि मन्दिरमा विद्युतीय प्रणालीमार्फत भेटी सङ्कलन सुरु भएको हो ।
‘स्क्यान गरौँ भेटी चढाऔँः पुण्य कमाउँ, यसपालि भेटी नगदबाट हो इन क्युआर बाट गरौँ’ भन्ने नाराका साथ प्रभु बैङ्कले यो सेवा सुरु गर्न सहयोग गरेको हो ।
बैङ्कले कालिका भगवती गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड उपलब्ध गराएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। नगद नबोक्ने भक्तजनले विद्युतीय प्रविधिको प्रयोग गरी भेटी चढाउन सक्ने अध्यक्ष खड्काको भनाइ छ।
बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत क्यूआर कोड उपलब्ध गराएको प्रभु बैङ्क गण्डकी प्रदेश शाखाका प्रमुख राजु रानाले बताए। विद्युतीय कारोबारले मन्दिरको पारदर्शिता बढाउनुका साथै मन्दिरमा कार्य बो झको समस्या कम हुने उनको भनाइ छ। कोरोनाको समयमा विद्युतीय भुक्तानी अझै प्रभावकारी र व्यवहारिक हुने रानाको भनाइ छ।
क्यूआर कोड हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैङ्क गण्डकी प्रदेश प्रमुख डाक्टर रामशरण खरेलले विद्युतीय भुक्तानीको कारोबारलाई बढाउँदै लैजानुपर्नेमा जोड दिए।
“देश डिजिटल युगमा प्रवेश गर्ने भनेको छ, अब हामी मन्दिरमा भेटी पनि डिजिटल माध्यामबाट चढाउन सक्छौँ”, उनले भने।
मन्दिर व्यवस्थापन समितिले पहिलो पटक क्यूआर कोडमार्फत भेटी सङ्कलन गर्न थालेको हो। नगदमा प्राप्त हुने भेटी पनि सङ्कलन गरिनेछ।
मन्दिर परिसरमा क्यूआर कोड राखिने छ। सबै भक्तजनको पहुँचमा हुने क्यूआर कोड स्क्यान गरेर कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको खातामा भक्तजन तथा दाताले सिधै रकम जम्मा गर्न सक्नेछन्।
प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार