वर्ल्डलिंकको इन्टरनेट उपकरणहरु चोरी गर्ने प्रहरीको नियन्त्रणमा

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
वर्ल्डलिंकको इन्टरनेट उपकरणहरु चोरी गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेटमा प्रयोग हुने उपकरणहरु चोरेर बिक्री गर्न हिँडिरहेको अवस्थामा प्रहरीको टोलीले काठमाण्डौंको बुढानिलकण्ठबाट एकजनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले दिएको जानकारीअनुसार फागुन ६ गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ इटालिचोकस्थित सुर्वण काजि श्रेष्ठको घरमा वर्ल्डलिंकका कर्मचारी अर्जुन सुनुवारले इन्टनेट सम्बन्धी काम गर्दै गरिरहेको अवस्थामा उक्त स्थानबाट वर्ल्डलिंकमा प्रयोग हुने नोकिया ड्यूल ब्याण्ड राउटर ४ ओटा, नोकिया सिंगल ब्याण्ड राउटर २ ओटा र एभी केबल ३ थानसहित नीलो ब्याग चोरी भएको थियो।

सोही प्राप्‍त सूचनाको आधारमा प्रहरीले खोजी गरेर एकजनालाई पक्राउ गरेको हो।

चोरी भएको उपकरणहरुसहित प्रहरीले सिन्धुली घुर्मि गाउँ पालिका वडा नं. ४ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ४ पासिकोट बस्ने २८ वर्षिय युवराज तामाङलाई फेला पारी नियन्त्रणमा लिइएको जनाएको छ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको बिशेष प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गर्ने क्रममा फागुन ९ गते बेलुका ४ बजेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ गणेश चोकस्थित ह्याप्पी कोलोनीभित्र उक्त सामान बिक्री गर्ने उद्देश्यले हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा तामाङलाई पक्राउ गरेको हो।

प्रहरी प्रभागकाअनुसार निजको साथबाट नोकिया ड्यूल ब्याण्ड राउटर ४ ओटा, नोकिया सिंगल ब्याण्ड राउटर २ ओटा र एभी केबल ३ थान बरामद गरिएको छ।

घटनाको सम्बन्धमा निज उपर मुलुकी अपराध (संहिता) ऐन,२०७४ को परिच्छेद -२० अन्तर्गत चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी बृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भई रहेको जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...