काठमाडौं ।
मेटाभर्समा रहेका केही एपहरु बालबालिकाका लागि खतराजनक रहेका तथ्य बाहिरिएको छ।
हालै बीबीसी न्यूजको अनुसन्धानका क्रममा एनएसपीसीसी अर्थात् नेशनल सोसाइटी फर द प्रिभेन्सन अफ क्रुयल्टी टू चिल्ड्रेन (बालबालिकामाथि हुने क्रूरता रोक्ने राष्ट्रिय समाज)ले ती एपहरु डिजाइनका हिसाबले खतराजनक रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।
एक अनुसन्धाताले १३ वर्षीया बालिकाका रुपमा ती एपहरु चलाएर भर्चुअल रियालिटीको दुनियाँमा याैनजन्य सामग्री, जातीय गालीगलौज तथा बलात्कारको धम्कीसम्म दिइने गरेको पाएको समाचारमा उल्लेख छ।
बालबालिकाको क्षेत्रमा काम गर्ने कल्याणकारी संस्था एनएसपीसीसी यो नतिजाबाट निकै आश्चर्यचिकत र क्रोधित भएको बुझिएको छ।
अनलाइन बालबालिका सुरक्षा नीतिका प्रमुख एण्डी बरोजले पनि उक्त अनुसन्धानले ती एपहरु ‘जोखिमहरुको विषाक्त समन्वय’ रहेको बताएका छन्।
बीबीसीका समाचार अनुसन्धाताले तीमध्ये कुनै एपमा १३ वर्षीया बालिकाका रुपमा भर्चुअल रियालिटी रुममा पसेको र त्यहाँका अवतारहरु याैनलाई प्रतिनिधित्व गर्ने खालका रहेको पाएका थिए।
उनलाई उक्त रुममा यौन खेलौनाहरु देखाइएको र थुप्रै वयष्कहरुले उनीसँग कुरा गर्न खोजेको बीबीसी समाचारमा समावेश छ।
केहो मेटाभर्स?
सामन्य भाषामा मेटाभर्स एउटा यस्तो भर्चुअल विश्व हो जसलाई कम्प्युटर इफेक्टको माध्यमबाट मानिसहरुलाई विभिन्न प्रकारका सुविधा उपलब्ध गराउन सकिन्छ। मानिसहरुले घरै बसेर भर्चुअल तरिकाबाट विश्व परिक्रमा गर्न सक्नेछन्।
फेसबुकका सीईओ मार्क जुकरबर्गले अबको पाँच वर्षमा फेसबुकलाई पूर्णरुपमा भर्चुअल विश्वमा बदल्ने कोशिश गर्ने दाबी गरेका छन्।
उनका अनुसार मानिसहरु एक ठाउँबाट हलचल नगरी अन्य व्यक्तिहरुको नजिक पुगेको अनुभव गर्न सक्नेछन्। झट्ट सुन्दा यो साँचो सावित भएमा चर्चित साइन्स फिक्शन फिल्म द म्याट्रिक्समा रहेका मुख्य पात्र नियोले बाँचेको दुनियाँ जस्तो अनुभव सबै जनाले गर्न सक्नेछन्।
भर्चुअल रियालिटी तथा अग्मेन्टेड रियालिटीको विज्ञ मानिने फेसबुकको ओक्युलस डिभिजनले कम्पनीलाई मेटाभर्सको विकास गर्नमा मद्दत गरिरहेको बुझिएको छ।
यसको चर्चा भए अनुसार नै काम हुँदै जाने हो भने केही वर्षभित्रमा इन्टरनेटको परिभाषा र यसमार्फत गर्न सकिने काम र अनुभवको परिभाषामा ठूलो परिवर्तन आउने निश्चित छ।
प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार