प्रहरीलाई ड्रोन क्यामरा र ल्यापटप सामग्री सहयोग

  • Technology Khabar | ११ फाल्गुन २०७८, बुधबार
प्रहरीलाई ड्रोन क्यामरा र ल्यापटप सामग्री सहयोग

काठमाडौं ।

लमजुङ प्रहरीले ड्रोन क्यामरा र ल्यापटप कम्प्युटर प्राप्त गरेको छ। बेँसीसहर नगरपालिकाले अपराध अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङलाई ड्रोन क्यामरा र ल्यापटप सहयोग गरेको हो।

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीलाई मंगलबार ड्रोन क्यामरा र ल्यापटप हस्तान्तरण गरे। नगरपालिका प्रमुख अर्यालले समाजमा शान्ति सुरक्षा कायम गर्न ड्रोन र कार्यालयको कामकाज सहज बनाउन ल्यापटप सहयोग गरेको बताए।

शान्ति सुरक्षा भएन भने समाजमा स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारबाट नागरिक बञ्चित हुने भएकाले यसमा ध्यान दिनुपर्ने उनको भनाई छ । ड्रोनको व्यवस्था भएमा अपराध भएको स्थानको बारेमा जानकारी पाउन सकिने र अपराधी उम्किन नसक्ने भएकाले सो सामग्री सहयोग गरिएको उनले बताए।

‘समाजमा विभिन्न अपराध भइरहेको हुन्छ । प्रहरीले ड्रोनको प्रयोग गर्न सकेमा अपराध गर्न खोज्नेहरु भाग्छन् । अपराध गरेकाहरु उम्किन पाउँदैनन्। यसले अपराध अनुसन्धानमा थप सघाउ गर्छ,’ उनले भने।

अबको अपराध अनुसन्धान व्यवस्थित, बैज्ञानिक र अनुसन्धानमूलक हुनुपर्ने उनको भनाई छ ।

प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले नगरपालिकाले अतिआवश्यक सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिए । कार्यालयमा राम्रो ल्यापटप नहुँदा काम सम्पादनमा समस्या भएको र अपराध अनुसन्धानको क्रममा ड्रोन आवश्यक परेकाले नगरपालिकासँग सहयोग मागेको उनले बताए।

प्रहरीको कामलाई थप गुणस्तरीय र प्रभावकारी बनाउनमा यसले सहयोग पुग्ने उनले बताए। आफुहरु जनताको सेवामा तल्लिन रहेकाले समस्या परेको बेला २४ घण्टा नै जानकारी गराउन उनले अनुरोध गरे।

नगरपालिकाकाअनुसार प्रहरी कार्यालयलाई १४ इन्चको डेल आई थ्रि ल्यापटप र ड्रोन क्यामरा प्रदान गरिएको छ।

ड्रोन क्यामरा ६० हजार १ सय ७६ रुपियाँ ९९ पैसामा र ल्यापटप ५५ हजार ३ सय १० रुपियाँमा खरिद गरी प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए। सो सामग्रीले प्रहरीलाई कार्य सम्पादन र अपराध अनुसन्धानमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे। गोरखापत्रअनलाइन

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार