अनलाइन ठगी तथा अवैध कल सेन्टर संचालन गर्ने संचालकसहित ८० जना पक्राउ

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
अनलाइन ठगी तथा अवैध कल सेन्टर संचालन गर्ने संचालकसहित ८० जना पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं ।

अनलाइनमार्फत ठगी गर्ने तथा अवैध कल सेन्टर संचालन गर्ने १ चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरिएको छ।

भक्तपुर, सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सोही ठाउँस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनावसहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको बताईएको छ।

भारतीय मुलका युवा युवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजारसम्म सानो सानो मात्रामा ऋण लगानी गरी निश्‍चित ब्याज सहित तोकिएको समयभित्र उठाउन ऋणिहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्ने गरिएको प्रहरीले भेटेको थियो।

चिनियाँले अनलाईन एप्समार्फत भारतीय नागरिकहरुलाई ‘लोन’ सापटी दिने गरेको बताईएको छ।

वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो।

उक्त कार्य संचालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार