युवा वैज्ञानिक र विज्ञ प्राविधिकहरूलाई नयाँ खोज र अनुसन्धानमा लाग्न प्रधानमन्त्रीको आग्रह

  • Technology Khabar | ७ फाल्गुन २०७८, शनिबार

काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन्।

नास्टको शुक्रबार भएको ४५औँ प्राज्ञसभामा उनले विज्ञान–प्रविधिको क्षेत्रमा मुख्यतया शिक्षित जनशक्तिलाई स्वदेशमै पूर्णरुपमा परिचालन गरी प्रतिभा पलायन हुन नदिने तथा विज्ञान–प्रविधिलाई राष्ट्रको आधुनिकीकरण र उत्पादन प्रणालीसँग जोडेर आर्थिक विकासको गतिलाई उच्च बनाउनेतर्फ जोड दिनुपर्ने बताए।

यस क्रममा मुलुकभित्रका वैज्ञानिक, अनुसन्धानकर्मीसहित नास्टमा आबद्ध वैज्ञानिक तथा विज्ञहरूको विज्ञताको पूर्ण उपयोग र वृत्ति विकासका लागि ठोस कार्ययोजना तयार गरी अघि बढाउन प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालय र नास्टका पदाधिकारीहरूलाई निर्देशन दिए।

उनले भने, “प्रतिष्ठानले केही समय अगाडि मात्र नेपालको स्याटेलाइटलाई अन्तरिक्षमा पुर्याउन गरेको सफल प्रयासका लागि यस कार्यमा संलग्न सबै वैज्ञानिक तथा प्राविधिकहरूलाई बधाई दिन चाहन्छु । विगत दुई वर्षदेखि विश्वलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीलाई नियन्त्रण गर्ने सन्दर्भमा आवश्यक उपकरण र प्रविधि विकास गर्न नवप्रवर्तकहरूलाई सहयोग गर्दै आइसोलेसन बुथ निर्माण गरी नेपाल सरकारका सबै सुरक्षा निकाय, विभिन्न स्वास्थ्य सङ्घसंस्था र स्थानीय निकायहरूलाई उपलब्ध गराउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दछु।”

नास्टले नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न तथा प्रयोगमा आएका सिलिन्डरको परीक्षण गर्न गरेको प्रयासको उनले उच्च मूल्याङ्कन गरेको बताए।

प्रधानमन्त्री देउवाले जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सबै युवा वैज्ञानिक र विज्ञ प्राविधिकहरूलाई थप लगनशील र जागरुक भई मुलुकको विकास र समृद्धिको लागि उपयोगी हुने नयाँ खोज र अनुसन्धानमा लाग्नका लागि अभिप्रेरित गरे।

“विज्ञान शिक्षकहरूलाई प्रशिक्षण, सूचना पहुँच केन्द्रको स्थापना, मूर्धन्य वैज्ञानिक/प्राविधिकहरूलाई पुरस्कृत गर्ने तथा अनुसन्धानकर्मी संस्थाहरूलाई सहयोग गर्नेलगायतका कार्यक्रम पनि प्रतिष्ठानबाट सञ्चालन भएका छन् । यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा थप विस्तार गर्दै जान आवश्यक छ भन्ने मलाई लागेको छ”, प्रधानमन्त्री देउवाले भने।

मुलुकको विकासलाई सहयोग पुग्ने गरी नयाँ–नयाँ प्रविधिको खोज, अनुसन्धान र विकास गर्ने, अन्य देशमा आविष्कार भई प्रयोगमा आएका समाजोपयोगी नयाँ प्रविधिलाई मुलुकमा भित्र्याउन आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रधानमन्त्रीले विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास् ट)लाई सातवटै प्रदेशमा विस्तार गर्न निर्देशन दिए। उनले तत्काल नास्टको कार्य क्षमता र कार्यक्षेत्र विस्तार गर्न निर्देशन दिएका हुन्।

बैठकले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ । प्रतिष्ठानद्वारा २०७८ सालमा प्रदान गरिने विभिन्न विधामा पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ । बैठकले कुलपति राष्ट्रिय नव प्रवर्तन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद्लाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी डा. कोमलराज रिजाललाई विज्ञान पुरस्कार, प्रा.डा. सुदर्शनराज तिवारीलाई प्रविधि पुरस्कार दिने निर्णय भएको छ। विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. लक्ष्मीकुमार पराजुली, डा. निरञ्जन कोइराला, डा. प्रदीपकुमार पौड्याल, डा.रक्षा डङ्गोल र डा. अनु भट्टराईलाई प्रदान गरिने भएको छ।

त्यसैगरी महिला विज्ञान तथा प्रविधि पुरस्कारबाट डा. बबिता पौडेल, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार प्रकाशचन्द्र अमात्य र कमल रानाभाटलाई प्रदान गरिने छ । विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारबाट छत्र कार्की, दयानन्द बज्राचार्य तथा अनुसन्धान पुरस्कार सायरा विष्ट र सुरेन्द्रकुमार सुवेदीलाई दिने निर्णय पनि प्राज्ञ सभाले गरेको छ। गोरखापत्र

प्रकाशित: ७ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार