
काठमाडौं ।
रुपन्देहीको सैनामैना नगर पालिकाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकलाई ल्यापटप वितरण गरको छ। गत असारमा वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने कार्यक्रम प्रस्तुत गरेको नगरपालिकाले ल्यापटप वितरणबाट शिक्षकमा अध्यापनप्रति थप उत्साह सिर्जना हुने जनाएको छ।
नगरका १७ वटा सामुदायिक विद्यालयका १६० जना शिक्षकलाई ल्यापटप प्रदान गरेको हो।
ल्यापटप वितरण गर्दै नगरप्रमुख कार्कीले लागत सहभागितामा विद्यालयका शिक्षकलाई ल्यापटप प्रदान गरिएको बताउँदै २५ प्रतिशत लागत सहभागितामा नगर पालिकाका १७ विद्यालयका १६० जना शिक्षकलाई सो ल्यापटप वितरण गरिएको जानकारी दिए।
“एक शिक्षक, एक ल्यापटप, एक कक्षाकोठा एक प्रोजेक्टर भयो भने राम्रो हुन्छ भन्ने सुझाव आयो, सोहीबमोजिम ल्यापटप वितरण गर्यौं र प्रोजेक्टरको प्रक्रिया अघि बढेको छ”, उनले भने।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले एक करोड २० लाख ९५ हजार रुपियाँमा १६० थान ल्यापटप खरिद गरिएको जानकारी दिए। उनले नगरपालिकाको ७५ प्रतिशत लागत र शिक्षकको २५ प्रतिशत लागतमा उक्त ल्यापटप खरिद गरेर वितरण गरिएको बताए ।
यसअघि पनि नगरपालिकाले अनुदानमा ल्यापटप वितरण गरेको सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको भनाइ छ। गोरखापत्र
प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार