राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनलाई ‘गण्डकी रत्न’ सम्मान

  • Technology Khabar | ५ फाल्गुन २०७८, बिहीबार
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनलाई ‘गण्डकी रत्न’ सम्मान

काठमाडौं ।

गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ। उनले विज्ञान र प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रदेश सरकारले सम्मान गर्ने भएको हो।

प्रदेश सरकारको स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा बुधबार उनलाई सो सम्मान प्रदान गर्ने घोषणा गरिएको हो।

‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसकेका उनले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्वपूर्ण योगदान वापत सो सम्मान दिन लागिएको हो । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पुनलाई सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएका छन्।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गत माघ चार गते सूचना जारी गर्दै सम्मानको दाबी गर्नेहरूबाट आवेदनको आह्वान गरेको थियो। यस क्रममा भाषा, साहित्य, खेलकूद, पर्यटन, समाज सेवा, संस्कृति, उद्योग लगायतका क्षेत्रमा काम गर्दै आएका आठले आवेदन दिएका थिए । तर पुनले आवेदन नदिएपनि उनलाई सम्मान गर्न लागिएको हो।

‘गण्डकी रत्न’ पाउने व्यक्तित्वलाई गण्डकी प्रदेशमा आयोजना हुने सभा समारोहमा प्रदेश सभा सदस्य सरहको मान्यता र सुविधा दिने व्यवस्था छ। यसका साथै उनले विशेष प्रमाणपत्र तथा प्रदेश झल्कने लोगो प्राप्त गर्नेछन् ।

पुन अहिले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान र प्रविधिको क्षेत्रमा क्रियाशील छन्। सन् १९९५ जनवरी २२ मा म्याग्दीको नागी गाउँमा जन्मिएका पुन सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...