
काठमाडौं ।
चौधरी ग्रुप अन्तरगतको सीजी इलेक्ट्रोनिक्स प्रालि, सीजी इम्पेक्स प्रालि र ईओएल प्रालिको अग्नी बीमा सम्बन्धित मुद्दा करिब ३ महिनापछि सर्वोच्च अदालतमा पेसीमा चढेपनि हेर्न नभ्याईनेमा परेको छ।
चौधरी ग्रुपको ईलेक्ट्रोनिक्स सामग्रीहरु बिक्री बितरण गर्ने तीनओटै कम्पनीहरुको अग्नी बीमा सम्बन्धित मुद्दा गएको मंसिर २ गतेपछि पहिलो पटक सर्वोच्चको पेसीमा आज चढेका हुन्।
तर करिब ३ महिनापछि आएका ती मुद्दाहरु आज हेर्न नभ्याईनेमा परे। सर्वोच्चका न्यायाधिशद्वय टंकबहादुर मोक्तान र प्रकाश कुमार ढुंगानाको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याईने परेका हुन्। सो विषयसम्बन्धित फरक/फरक ९ मुद्दाहरु एकै इजलासमा तोकिएका थिए।
सो उत्प्रेषण मुद्दा २०७५ जेठ ६ गते सर्वोच्चमा दर्ता भएका थिए। जसमा तीनओटै कम्पनीहरुले बीमा समितिको तत्कालिन निर्णयको विरुद्धमा छुट्टाछुट्टै मुद्दा हालेका थिए।
२०७० असोजमा युनाइटेड इन्स्योरेन्सले सीजी इलेक्ट्रोनिक्सको कारखाना र गोदाममा आगलागीबाट क्षति भएको भन्दै ५९ करोड रुपैयाँ बीमाको दाबी भुक्तानी दिएको थियो। सीजी इम्पेक्स, सीजी इलेक्ट्रोनिक्स र ईओएल नामक कम्पनीलाई दाबी भुक्तानी गरिएपछि बीमा समितिबाट गएको एक स्थलगत निरीक्षण टोलीले १० वटा कैफियत देखाउँदै प्रक्रियाबारे नै प्रश्न उठाएको थियो ।
सो टोलीले युनाइटेड इन्स्योरेन्सबाट वास्तविकभन्दा बढी रकम भुक्तानी भएको उल्लेख गर्दै असुलउपर गर्न समेत भनेको थियो।
सो विषयमा तत्कालिन समयमा अख्तियार दूरुपयोग आयोगमा समेत मुद्दा परेर आयोगले निर्देशन दिएपछि बीमा समितिले २०७१ चैतमा युनाइटेड इन्स्योरेन्सलाई अग्नी बीमा कारोबारमा रोक लगाएको थियो ।
सोही विषयमा सीजी इलेक्ट्रोनिक्स, सीजी इम्पेक्स र ईओएलसहित युनाइटेड इन्स्योरेन्स बीमा समिति विरुद्ध सर्वोच्च गएका थिए।
सो मुद्दाको सुनुवाई यसअघि २०७६ चैत ४ गते समेत हेर्न नभ्याईनेमा परेको थियो भने त्यसपछि स्थगीत र बेन्च नै नबस्दा सुनुवाई हुन सकेको थिएन।
सीजी इलेक्ट्रोनिक्स, सीजी इम्पेक्स र ईओएल तीनओटै कम्पनीहरु चौधरी समूहअन्तरगत विभिन्न ईलेक्ट्रोनिक्स तथा मोबाइललगायत उपकरणहरु आयात तथा बिक्री बितरण गर्दै आएका कम्पनीहरु हुन्। यसका साथै युनाइटेड इन्स्योरेन्समा समेत सीजी ग्रुपको लगानी रहेको छ।
सीजी इलेक्ट्रोनिक्सअन्तरगत सीजी इम्पेक्स प्रालिले ३ वर्ष अगाडिसम्म नेपालमा इन्टेक्सका मोबाइल फोनहरु आयात तथा बिक्री गर्ने गर्दथ्यो। यसले एलजी, तोसिबा, सीजी, ब्ल्याक प्लस डेकर टिसीएललगायतका इलेक्ट्रोनिक्स सामग्रीहरुको कारोबार गर्दछ।
प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार