
काठमाडौं ।
टेलिकम जायन्ट एरिक्सनले इराकमा पहुँच पाउनका लागस आईएसआईएसलाई रकम तिरेको हुन सक्ने बुझिएको छ।
एरिक्सनका सीईओ बोर्जे एकहोमले स्विडेनको स्थानीय समाचारपत्र ड्याजेन्स इन्डुस्ट्रीलाई कम्पनीले इराकमा सेवा विस्तारका लागि आईएसआईएसलाई रकम तिरेको हुनसक्ने बताएको इन्ग्याजेटले उल्लेख गरेको छ।
ब्लूमबर्गले भने सीईओलाई उद्धृत गर्दै २०१८ मा कम्पनीको ‘असामान्य खर्च’ देखिएको समाचारमा उल्लेख गरेको छ।
उक्त भुक्तानीको मुख्य प्रापक को हो भन्ने पहिचान भइनसकेको भन्दै सीईओ एकहोमले आफूहरु उक्त रकम पठाउन प्रयोग गरिएका यातायातको रुट पहिचान गर्न रेकर्ड अध्ययन गरिरहेको बताएका छन्।
उनका अनुसार उक्त भुक्तानी आईएसआईएसलगायतका आतंकवादी संगठनहरुको नियन्त्रणमा रहेको पाइएको छ।
एकहोमको यो धारणा एरिक्सनले इराक-सम्बद्ध व्यापारमा नीतिविपरीत भुक्तानी भएको चिन्ता सम्बन्धमा हुने अनुसन्धानमा आफूले सहयोग गर्ने ब्यहोराको विज्ञप्तिपछि आएको हो।
उक्त विज्ञप्तिमा एरिक्सनले असामान्य खर्चका बारेमा सन् २०१९ मा आन्तरिक छानबिन पनि भएको र त्यसबाट ‘कम्पनीको नियम गम्भीर रुपमा उल्लङ्घन’ भएको पाइएको उल्लेख गरिएको इन्ग्याजेटले प्रकाशित गरेको छ।
प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार