सञ्चार सुविधा नहुँदा समस्या

  • Technology Khabar | ५ फाल्गुन २०७८, बिहीबार
सञ्चार सुविधा नहुँदा समस्या

काठमाडौं ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा सञ्चार सुविधा विस्तार नहुँदा स्थानीयवासीलाई सूचना आदान–प्रदान गर्न समस्या भएको छ।

कुइनेमङ्गलेवासी आधुनिक सूचना प्रविधिको सुविधा उपभोग गर्नबाट बञ्चित भएका हुन् । चौरखानी, मङ्गलेखानी, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी, डाढ, खरिबोट, याङ्लेका बासिन्दा मोबाइलमा कुरा गर्नका लागि डाँडा र रुख चढ्नुपर्ने बाध्यता रहेको चौरखानीको रघुगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रमान छन्त्यालले बताए ।

“डाँडामा पुगेपछि अलि–अलि टावरले टिप्छ, त्यो पनि आवाज राम्रो आउँदैन”, उनले भन‍े, “चिच्याइचिच्याई बोल्नुपर्छ । अहिलेको आधुनिक जमनामा आधारभूतजस्तै भएको सञ्चार सुविधाबाट बञ्चित हुनुपर्ने दुःखलाग्दो अवस्था छ ।”

घ्यासीखर्कका रमेश तुलाचनले गाउँ बाहिर रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग मोबाइलमा कुराकानी गर्न मोबाइलको टावरले टिप्ने चिमखोलाको गौडामुनी पुग्न एक घण्टा हिँड्नुपर्ने बताए।

महत्वपूर्ण सूचना आदान–प्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै कोही रुखमा पनि चढ्ने गरेका छन् । अग्ला रुख र डाँडामा अलिअलि मात्र टावरले टिप्छ । सबैको हात–हातमा मोबाइल भए पनि त्यो गीत सुन्न, भिडियो हेर्न, तस्वीर, भिडियो खिच्नका लागि मात्र सीमित छ। पाखापानीको कमनाथमा नेपाल टेलिकमको बिटिएस टावर छ। कुइनेमङ्गलेको छिमेकी वडा चिमखोला गाउँमा पनि मोबाइल फोन सेवा सहज छैन । सबै ठाउँमा मोबाइलको टावरले भनेको समयमा टिप्दैन।

विभिन्न बस्तीमा २५० भन्दा बढी घरधुरी रहेको कुइनेमङ्गलेमा निर्माणाधीन मङ्गले राहुघाट र ठूलोखोला जलविद्युत् आयोजनाका मजदुर, कर्मचारी र प्राविधिकलाई पनि सञ्चार असुविधाले समस्या बनाएको छ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले मोबाइल सेवा विस्तारका लागि वर्षौंदेखि नेपाल टेलिकममा ताकेता गरिए पनि ढिलाइ गरेका बताए ।

कुइनेमङ्गले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि गाउँपालिकाले तीन वर्षअघि तीन लाख खर्च गरेर चिमखोलाको डाँडामा गार्डघर बनाइदिएको थियो ।

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भौगोलिक विकटता, विद्युत् अभाव र सामाजिक समस्याले ढिलाइ भएको सो टावर आगामी बर्खाअघि नै सञ्चालन गरिने बताए। चिमखोलाबाट टावर रहने ठाउँसम्म विद्युत् पुर्याउन नेपाल विद्युत प्राधिकरणलाई १६ लाख बजेट उपलब्ध गराइसकेको उनले बताए ।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ५ फाल्गुन २०७८, बिहीबार