Technology Khabar ४ फाल्गुन २०७८, बुधबार
काठमाडौं ।
संसारको सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एप्पलको एक प्रमुख आपूर्तिकर्ता फक्सकनले भारतमा सेमिकण्डक्टर उत्पादन गर्न वेदान्त समूहसँग साझेदारी गरेको छ।
फक्सकनले सेमिकण्डक्टर (अर्धचालक) हरूको विश्वव्यापी अभावको बीचमा आफ्नो व्यवसाय विविधीकरण गर्ने योजना बनाएको छ। हालैका वर्षहरूमा, फक्सकनले इलेक्ट्रिक भेहिकल (ईभी) जस्ता खण्डहरूमा विस्तार गरेको भारतीय मिडियाहरुले जनाएका छन्।
फक्सकनले जारी गरेको विज्ञप्तिमा कम्पनीले वेदान्त समूहसँग सम्झौता गरेको बताएको छ। यसले भारतमा इलेक्ट्रोनिक्स उत्पादनलाई बढावा दिने अपेक्षा गरिएको छ। फक्सकनले वेदान्तसँग संयुक्त उद्यम कम्पनी बनाउन ११.८७ मिलियन डलर लगानी गर्ने बताएको छ।
यस कम्पनीमा वेदान्तको ठूलो हिस्सा रहनेछ। फक्सकनले ४० प्रतिशत होल्डिङ पाउनेछ । “दुई कम्पनीहरू बीचको यो पहिलो यस्तो संयुक्त उद्यम हो। यसले देशमा अर्धचालक उत्पादनको लागि इकोसिस्टम सिर्जना गर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
ताइवानको फक्सकन सेमिकण्डक्टर खण्डमा राम्रो सम्भावना देख्छ। गत वर्ष यसले सेमिकन्डक्टर बनाउन याजियोसँग हात मिलाएको थियो।
धेरै अटोमोबाइल र इलेक्ट्रोनिक्स कम्पनीहरू सेमीकन्डक्टरको अभावका कारण समस्यामा परेका छन्। यसले उत्पादनमा असर गरेको छ । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार कम्पनी टेस्लाले पनि सेमिकण्डक्टरको अभावका कारण उत्पादन घटाउनु परेको छ। विश्वको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी मध्येको एक टाटा मोटर्सले पनि सेमिकण्डक्टरको अभावका कारण आफ्ना केही मोडलको उत्पादन घटाएको छ। यसले ग्राहकसम्म गाडी डेलिभरी हुने समय पनि बढाएको छ।
सेमिकण्डक्टर उत्पादन गर्ने अधिकांश कम्पनीहरू एशियामा छन्। यस समस्यालाई सम्बोधन गर्न, हालका महिनाहरूमा सेमीकन्डक्टर व्यवसायमा केही प्रमुख लगानी सम्झौताहरू भएका छन्।
फक्सकनले ईभी बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने तयारी गरिरहेको छ। फक्सकनले ईभीका लागि चिप्स बनाउन केही फर्महरूसँग कुराकानी गरिरहेको बताएको छ। भारतमा सेमिकण्डक्टर उत्पादनका लागि केन्द्र सरकारले प्रोत्साहन पनि दिइरहेको छ। जसका कारण केही विश्व कम्पनीले नेपालमा अर्धचालक प्लान्ट स्थापना गर्न चासो लिएका छन् ।
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार