काठमाडौं ।
एचएमडीले कुनै आधिकारिक घोषणा र हल्लाखल्लाबिना नै नोकिया जी११ स्मार्टफोन सुटुक्क सार्वजनिक गरेको छ।
यो डिभाइस बजारमा ल्याइएको बारे कम्पनीको वेबसाइटमा मात्र उल्लेख छ।
जीएसएमएरिनाले जनाए अनुसार यसको मुख्य विशेषतामा लामो ब्याट्री लाइफ तथा दुई ओटा मुख्य ओएस अपडेट हुन्।
नोकिया जी११को लगभग समग्र हार्डवेयर नोकिया जी२१ सँग मिल्दोजुल्दो रहेको तर मुख्य क्यामराको क्षमता तथा तोल भने घटाइएको समाचारमा उल्लेख छ।
यो डिभाइसमा यूनिसोक टी६०६ चिपसेट तथा ३जीबी र्याम र ३२ जीबीको आन्तरिक स्टोरेज दिइएको छ। यसमा ५१२ जीबीसम्मको कार्डका लागि स्लट दिइएको छ।
पछाडिपट्टिका क्यामरामा १३ मेगापिक्सेलको मुख्य र अन्य दुई ओटा २-२ मेगापिक्सेलका रहेका छन्। यस्तै अगाडि ८ मेगापिक्सेलको वाटरड्रफ नच क्यामरा उपलब्ध गराइएको छ।
यसमा ९० हर्ज रिफ्रेश रेटस तथा एचडी+ रेजोल्युशनसहितको ६.५ इन्चको एलसीडी डिस्प्ले दिइएको छ।
पावरका लागि १८ वाट फास्ट चार्जिङसहितको ५, ०५० एमएएचको ब्याट्री समावेश गरिएको र एन्ड्रोइड ११ रहेको यो डिभाइसमा तीन वर्षको सेक्युरिटी अपडेट तथा दुई ओटा मुख्य ओएस अपडेट उपलब्ध गराइने कम्पनीलाई उद्धृत गर्दै जीएसएमएरिनाले उल्लेख गरेको छ।
यसको मूल्य यूरोपमा १५९ यूरो तोकिएको छ भने ब्लू र चारकोल ग्रे गरी दुई रंग संयोजनमा उपलब्ध हुने बुझिएको छ।
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार