ओपोले फाइन्ड एक्स५ सिरिजका लागि ह्यासलब्लाडसँग साझेदारी गर्ने

Technology Khabar ३ फाल्गुन २०७८, मंगलवार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो फाइन्ड एक्स५ स्मार्टफोनको क्यामराका लागि ह्यासलब्लाडसँग सहकार्य गर्ने घोषणा गरेको छ।

ह्यासलब्लाड इमेजिङ सिस्टम तथा फोटोग्राफीका क्षेत्रमा निकै चर्चित स्विडेनको फोटोग्राफी ब्राण्ड हो।

यसअघि फाइन्ड एक्स५ का बारेमा आएका थुप्रै लीकहरुमा ह्यासलब्लाडको लोगो हुनुलाई पछिल्लो घोषणाले पुष्टि गरेको छ।

तर यी दुईका बीच गत वर्षको वनप्लस ९ प्रोमा जस्तै कलर क्यालिब्रेशन तथा क्यामरा इन्टरफेस डिजाइनका लागि मात्रै साझेदारी हुने हो वा यसमा थप ह्यासलब्लाडको फोटो ट्युनिङको फिचर पनि दिइने हो भन्ने प्रस्ट पारिएको छैन।

फाइन्ड एक्स५ मा १/१.५६ इन्चको सेन्सर तथा १.० माइक्रोमिटर पिक्सेलहितको ५० मेगापिक्सेलको सोनीको आईएमएक्स७६६ इमेजिङ सिस्टम रहने अपेक्षा गरिएको छ।

यसबाहेक यसमा १३ मेगापिक्सेलको ५x जूमसहितको टेलिफोटो लेन्स पनि समावेश हुने बताइएको छ।

ओपोले आफैंले तयार गरेको मारिसिलिकन एक्स एनपीयू चिपले इमेज प्रोसेसिङ तथा चारै दिशातर्फको अटोफोकस सिस्टमलाई सहयोग गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

चर्चित लिकस्टर डिजिटल च्याट स्टेशनले ओपोले आफैंले तयार पारेको फाइभ-एक्सिस स्टाबिलाइजेशन सिस्टमको बृहत उत्पादन थालेको बताएका छन्। यो ओपोको गत वर्षको ग्रीष्म ऋतुमा क्यामरा इभेन्टमा प्रदर्शन गरेको मोड्युल रहेको बुझिएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया